मलंगवा, १० कात्तिक – बंगाल खाडीमा विकसित न्यूनचापिय प्रणालीको प्रभाव सर्लाहीमा समेत पर्ने देखिएको भन्दै जिल्ला विपत् व्यवस्थापन समिति सर्लाहीको सोमबार बसेको बैठकमा छलफल गरिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समिति सर्लाहीको बैठकले चक्रवातको प्रभावले जिल्लामा कुनै प्रकारको घटना घटनासाथ तत्कालै खोज, उद्धार एवं राहतसँग सम्वन्धित कार्यमा जुट्ने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकाय अधिकारी, पालिकाका प्रमुख तथा अध्यक्ष र अन्य सरोकारवालाको उपस्थितिमा बसेको बैठकमा मौसम विभागले बिहीबारदेखि आगामी आइतबारसम्म सर्लाहीमा समेत भारी वर्षाको पूर्वानुमान गरेकाले सबै निकाय मिलेर सतर्कता अपनाउन जोड दिँदै विपत् प्रतिकार्यमा लाग्ने निर्णय गरेको छ ।
बैठकले अब जाडोयाममा सम्भावित विपत्का घटनाको पूर्व तयारी, राहत वितरण र समन्वय कार्यलाई थप प्रभावकारी बनाउने र नागरिकको जीउधनको सुरक्षामा लाग्ने निर्णय गरेको छ ।