logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

वर्षाको पूर्वानुमानपछि हतारहतार धान भित्र्याउँदै किसान


  • उज्यालो अभियान

लालबन्दी, १० कात्तिक – मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको आँकलन गरेपछि सर्लाहीका किसानले अहिले हतारहतारमा धान भित्र्यारहेका छन् ।

यही समयमा धान पाकेर पहेँलपुर भए पनि भित्र्याउनका लागि कामदारको भने ‘हाहाकार’ मच्चिएको किसानको गुनासो छ । पानी पर्ने डरले घारिबथान, परवानीपुर, रानिगन्ज, जब्दी, लालबन्दी, नवलपुर, जानकीनगर, घुर्कौली, कर्मैया, हरिवनलगायत क्षेत्रका किसानले धमाधम धान काटिरहेका छन् ।

किसानलाई धमाधम पाकेको धान काट्ने, थ्रेसर लगाउने र घरमा ल्याएर भकारीमा थन्काउने चटारो परेको हो । लालबन्दी नगरपालिका–१६, परवानीपुरका किसान भरतप्रसाद गौतमले सम्पूर्ण फाँटमा धान काटेर भित्र्याउने काम चलिरहेको उज्यालो अभियानसँग बताए ।

ढिलो गरी धान पाक्ने जिल्लाको दक्षिणी भेगबाट उत्तरी भेगमा केही कामदार धान काट्ने कामका लागि आएका छन् तर पर्याप्त छैनन् । पानी पर्ने सूचना पाएपछि किसानलाई धान थन्काउने चटारो परेको हो ।

यो वर्ष दशैँ पछाडि धकेलिएकाले किसानलाई चाडबाडकै बेलादेखि नै धान थन्काउने चटारो परेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही कात्तिक ११ गतेदेखि वर्षाको पूर्वानुमान गरेकाले पनि कामदार अभावकै बिच तत्कालै पाकेको धानबाली भित्र्याउनुपर्ने बाध्यता रहेको किसानले बताएका छन् ।

केही क्षेत्रमा पाकिसकेको धानमा किरा लागेर बाला काट्न थालेपछि किसानलाई धान बाली हतार गरेर भित्र्याउनुपर्ने बाध्यता परेको छ । ईश्वरपुर नगरपालिका–१२, घारिबथानका किसान रामजी थापाले कामदार नपाएर किसानलाई धान काट्नेदेखि धान तथा पराल घरसम्म ल्याउन असाध्य सकस परिरहेको बताए ।

किसानको पहुँचमा आधुनिक उपकरण नपुग्दा, मानिसले नै गर्नुपर्ने कामका लागि कामदार नपाउने र अर्मपर्मको परम्परा हराउँदै गएसँगै खेती गर्न मुस्किल परेको गुनासो बढ्दै गइरहेको छ । कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार यो वर्ष जिल्लाभर ४१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा आधाउधी धान पाकेर भित्र्याउने बेला भएको छ ।

कार्यालयका प्रमुख एवं वरिष्ठ कृषि प्रसार अधिकृत कमलदेवप्रसाद कुशवाहाले बैदेशिक रोजगारमा बढ्दो आकर्षणका कारण कृषि क्षेत्रमा कामदारको अभाव बढ्दै जानु चिन्ताजनक विषय बनेको बताए ।