logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

विद्यार्थीलाई खोप लगाउन सर्लाहीमा भोलीदेखि ५ दिन विद्यालय खुल्ने


  • उज्यालो अभियान

पिपरिया माविका विद्यार्थीलाई केही समयअघि मोर्डना खोपको पहिलो डोज लगाइँदै ।

लालबन्दी – सर्लाहीमा १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउन भोली (सोमबार) देखि २१ गतेसम्म विद्यालय खोल्ने निर्णय भएको छ ।

आज (आइतबार) सदरमुकाम मलंगवामा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन ५ दिन विद्यालय खोल्ने निर्णय गरेको हो । खोप लगाउन ५ दिन विद्यालय खोलिएपनि पठनपाठन भने माघ मसान्तसम्म नै बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले उज्यालो अभियानसँग बताए ।

सर्लाहीमा एक लाख भन्दा बढी विद्यार्थीले मोर्डना खोपको पहिलो डोज लगाएका छन् । अब तिनिहरुलाई नै दोस्रो डोज लगाउन लागिएको हो । त्यसका लागि आज रातीसम्म सर्लाहीमा खोप आइसक्ने र भोलीसम्म प्रत्येक पालिकाहरुमा पठाइने जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डाक्टर नवलकिशोर झाले जनाए ।

उनले मलंगवादेखि नजिकका पालिकामा भोलीदेखि नै खोप लगाउन भ्याइएपनि अली टाढाका पालिकाले भोली नभ्याए पर्सी सबेरैदेखि खोप लगाउन थाल्ने बताए । डा. झाले विद्यार्थीहरुलाई विद्यालयमै पनि गएर र नजिकका स्वास्थ्य संस्थाहरुबाट खोप लगाइने जनाए ।

डीसीसीएमसीको बैठकले कतिपय निजी विद्यालयहरुले अहिले बन्देजकै बीच पठनपाठन गराइराखेकाले त्यसमा निगरानी गर्ने, आम सभा, जुलुस, भेला तथा धेरै मानिस भीडभाड हुने कार्यक्रम अर्को व्यवस्था नहुन्जेल सञ्चालन नगर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताएका छन् ।