बरहथवामा अस्पतालहरुको अनुगमन गर्न पुगेको टोली । (तस्बीर : उज्यालो अभियान)
बरहथवा – सर्लाहीको दक्षिण–पश्चिम भेगको ठूलो व्यापारिक केन्द्र बरहथवा बजारमा शनिबार तीन वटा अस्पतालको अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवाका प्रशाकीय अधिकृत एवं सूचना अधिकारी रामनरेश रामको नेतृत्वमा बरहथवामा रहेका बरहथवा नव जीवन प्रा.लि., भेनस हेल्थ केयर प्रा.लि. र सर्लाही गोल्डेन हस्पिटलको अनुगमन गरिएको हो । जसमा बरहथवा नव जीवन प्रा.लि. दर्ता नै नगरी सञ्चालन भइरहेको पाइएको छ ।
उक्त अस्पताललाई २ दिनभित्र कागजात पूरा गरी जिल्ला प्रशासन कार्यालयमा नबुझाए अस्पताल नै शिल गर्ने चेतावनी दिइएको छ । यस्तै, भेनस हेल्थ केयर र सर्लाही गोल्डेन अस्पतालमा औषधि व्यवस्थापन गर्ने तालिम लिएका फर्मासिस्ट नरहेको पाइएकाले दुवै अस्पताललाई क्रमश : ७ दिन र ५ दिनभित्र फर्मासिस्टको कागजात जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनिएको छ ।
त्यसैगरी अनुगमनका क्रममा सर्लाही गोल्डेन अस्पतालले बोर्डमा अप्रेसन सेवा भनेर लेखेपनि अप्रेसनको इजाजत भने नलिएको पाइएको छ । यसमा पनि अस्पतालालाई सचेत गराइएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी राम नरेश रामसहित इलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख राजेश राय, जिल्ला अस्पताल मलंगवाका मेडिकल अधिकृत डा. अविनाश सिंह, खाद्य निरीक्षक जगत प्रसाद चौधरी, नायब सुब्बा शम्भु ठाकुर, कम्प्यूटर अपरेटर मुकेश कुमार यादव, उद्योग वाणिज्य संघ बरहथवाका कोषाध्यक्ष बैजनाथ दास लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, शनिबार बरहथवा पुगेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम सहितको सुरक्षा अधिकारीको टोलीले इलाका प्रहरी कार्यालय बरहथवाको निरीक्षण गर्नुका साथै त्यहाँ सरोकारवालाहरुसँग शान्ति सुरक्षाको अवस्थाबारे अन्तक्र्रिया समेत गरेको छ ।