सांकेतिक तस्बिर ।
लालबन्दी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा शनिबार राती भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा अर्का एक जना घाईते भएका छन् । गएराती १० बजेतिर घारिबथान जाने बाँके चौक नजिकै बर्दिवासबाट लालबन्दीतर्फ आउँदै गरेको ना ३४ प ७०२१ नं. को मोटरसाइकललाई नम्वर र आकार खुल्न नसकेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुर्खेत जिल्ला घरभई हाल लालबन्दीमा बसेर सेक्यूरिटी गार्डको काम गर्दै आएका अन्दाजी ५६ वर्षका भिम गुरुङको ज्यान गएको ईलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ । सो दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–३ बस्ने ४२ वर्षीय जितन चौधरी घाईते छन् । चौधरीको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले शनिबार रातीदेखि नै दुर्घटनामा संलग्न सवारीको खोजी तीव्र पारेको छ ।
यसैबीच, नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत शनिबार साँझ हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । बाटो काट्नेक्रममा साइकलले ठक्कर दिँदा टाउकोमा चोट लागेर गम्भीर घाईते लक्ष्मीपुरकी ५५ वर्षीया सैफुल खातुनको उपचारका क्रममा राती प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको प्रहरीले जनाएको छ । म
हिलालाई ठक्कर दिने साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।