लालबन्दी – सर्लाहीमा नेपाली कांग्रेसको प्रदेश सभा अधिवेशन अन्तर्गत ७ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ ।
एउटा निर्वाचन क्षेत्रमा भने अहिले पनि मतदान जारी नै छ । क्षेत्र नं. १ को (क) र (ख) दुवै क्षेत्रमा मंगलबार बिहानपख मतगणना सकिएको हो ।
क्षेत्र नं. १ (क) को ईश्वरपुरस्थित बयलवासमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट संस्थापन इतर प्यानलका सभापति अनिललाल कर्णसहित पूरै प्यानल नै बिजयी भएको छ । त्यसैगरी १ को (ख) अन्तर्गत लालबन्दीमा भएको अधिवेशनबाट संस्थापन पक्षका सीताराम दाहाल बिजयी भएका छन् ।
क्षेत्र नं. २ को (क) र ख को पनि मंगलबार बिहानपख नै मतगणना सकिएको छ । त्यहाँ पर्सा गाउँपालिकामा भएको (क) निर्वाचन क्षेत्रको अधिवेशनमा संस्थापन इतरका सतेन्द्र राय निर्वाचित भएका छन् भने सदरमुकाम मलंगवामा भएको (ख) निर्वाचन क्षेत्रको अधिवेशनबाट संस्थापन पक्षका भिखारी ठाकुर सभापतिमा निर्वाचित भएका छन् ।
यस्तै, क्षेत्र नं. ३ (क) को हरिवनस्थित चारलिकमा भएको अधिवेशनमा संस्थापन इतर पक्षका जवाहारलाल कुशवाहा सभापतिमा निर्वाचित भएका छन् । सचिवमा भने संस्थापन पक्षका उत्तरमान तामाङ चयन भएका छन् ।
क्षेत्र नं. ३ (ख) को भने मंगलबार बिहान ८ बजे पछिबाट मतदान भइरहेको छ । लामो विवादपछि बरहथवास्थित पार्टी कार्यालयमा मतदान चलिरहेको हो ।
उता, क्षेत्र नं. ४ मा भने (क) र (ख) दुवै निर्वाचन क्षेत्रमा संस्थापन पक्ष अर्थात् प्रदेश सरकारका मन्त्री वीरेन्द्र सिंहको समूह हिजौ नै निर्विरोध निर्वाचित भइसकेको छ । संस्थापन इतर पक्षका नेता तथा सांसद डा. अमरेशकुमार सिंहको पक्ष मनोनयन दर्ता गर्नै नआएपछि ४ नम्वर क्षेत्रमा वीरेन्द्र सिंह पक्ष निर्विरोध निर्वाचित भएको हो ।
क्षेत्र नं. ४ (क) को धनकौल र (ख) को गोडैतामा प्रदेश सभा अधिवेशन सम्पन्न गरिएको हो । क्षेत्र नं. ४ (क) मा अभिनन्दन सहनी र (ख) मा अशोक कुमार सिंह प्रदेश क्षेत्रीय सभापतिमा चयन भएका छन् । बलरा नगरपालिकाको वडा नं. ८ र ९ को वडा अधिवेशन नै नगरी प्रदेश सभा अधिवेशन गरिएको भन्दै सांसद डा. अमरेश कुमार सिंह पक्षले प्रदेश सभा अधिवेशन बहिष्कार गरेको छ ।