बिजयी भएको संस्थापन प्यानल ।
रामवन – सर्लाहीको क्षेत्र नं. ४ मा नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा रामआश्रय साह निर्वाचित भएका छन् ।
वुधबार बिहान सम्पन्न मतगणनामा सभापतिका अर्का उम्मेदवार हरेन्द्र सहनीलाई पराजित गर्दै साह क्षेत्रीय सभापतिमा चयन भएका हुन् । संस्थापन पक्षका साहले ५१७ मत ल्याउँदा संस्थापन इतर पक्षका सहनीले २२७ मत मात्रै ल्याएका छन् ।
सभापतिमा निर्वाचित साह धनकौल गाउँपालिकाको अध्यक्ष समेत हुन् । बिजयी साह संस्थापन पक्षका वीरेन्द्र प्रसाद सिंह र पराजित भएका सहनी संस्थापन इतर पक्षका डा. अमरेश कुमार सिंहको तर्फबाट उम्मेदवार बनेका थिए । क्षेत्र नं. ४ को हिजो गोडैतास्थित रामवनमा मतदान भएको थियो ।
क्षेत्र नं. ४ मा सांसद डा. अमरेश कुमार सिंह आफै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
यस्तै, ईश्वरपुरस्थित बयलवासमा जारी क्षेत्र नं. १ को अधिवेशनमा अहिले मतगणना चलिरहेको छ । १ नम्वरमा संस्थापनबाट कुवेर आचार्य र इतर पक्षबाट हरि लुंगेली सभापतिको उम्मेदवार छन् ।
मतगणना जारी रहँदा दुवै पक्षले मिश्रित नतिजा ल्याइरहेका छन् । यस्तै, बरहथवामा चलिरहेको ३ नम्वर क्षेत्रको क्षेत्रीय अधिवेशन अन्तर्गत बुधवार मतदान हुँदै छ । मंगलबार त्यहाँ राती अबेरसम्ममा उम्मेदवारहरुको मनोनयन दर्ता भएको थियो ।
यस्तै, सदरमुकाम मलंगवामा राखिएको क्षेत्र नं. २ को अधिवेशनमा भने अझै विवाद नै छ । त्यहाँ मंगलबार निर्वाचन अधिकृतले मतदान अधिकृत बिरामी परेको भन्दै बुधबारका लागि अधिवेशन सारेका थिए ।