logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

एक पैदलयात्रीको मृत्यु हुने गरी दुर्घटना गराएर फरार बोलेरो प्रहरीको नियन्त्रणमा


  • उज्यालो अभियान

सुखेपोखरी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, सुखेपोखरीमा सोमबार साँझ बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग २ च ४३८० नम्वरको बोलेरोको ठक्करबाट पैदलयात्री बागमती नगरपालिका–१, डुमाजोर शैलुङ डाँडाका ५७ वर्षीय ज्याम्याङ वाईबाको मृत्यु भएको हो । वाईबालाई दुर्घटना लगत्तै उपचारका लागि नमूना अस्पताल हरिवन ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

मृतकको शव जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारले बुझेका छन् । प्रहरीले वाईबालाई ठक्कर दिएर फरार बोलेरो मंगलबार दिउँसो कविलासी नगरपालिकाको गैरबाट नियन्त्रणमा लिएको छ ।

सीसी टिभी फूटेजको रेकर्डका आधारमा निरन्तर खोजी गरी दुर्घटनामा संलग्न बोलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिन सफल भएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिए । गिरीका अनुसार मृतकको पनि राती अबेर परिवारका सदस्य आएर पहिचान गरेपछि मात्रै नाम, वतन खुलेको हो ।