logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

ग्याथाङ ज्याङ्छ्युब छ्योइलिङ गुम्बाका मानिपा समाजलाई राहत वितरण


  • उज्यालो अभियान

राजु तामाङ/बागमती – सर्लाहीको बागमती नगरपालिका–२, धरहरामा रहेको ग्याथाङ ज्याङ्छ्युब छ्योइलिङ गुम्बाको मानिपा समाजलाई आइतबार राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको छ ।

गुम्बाका १ सय भन्दा बढी मानिपा समाजमा आवद्ध लामा गुरु, आनी लगायत मानिपा समाजका आमा–बुवाहरुलाई राहत सामाग्री वितरण गरिएको हो । इन्टरनेशनल बुद्धिस्ट छ्यु चाइ फाउण्डेशनसँग बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होम बहादुर दोङ र समितिकै सदस्य विश्व लामा स्याङ्तानले समन्वय गरेर गुम्बा परिवारका मानिपा समाजलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

राहत सामाग्रीमा जनही चामल २५ केजी, आटा १० केजी, दाल, चना, तेल, नुन, चिनी, १÷१ केजी र साबुन ४ वटाका दरले वितरण गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानध्वज बोम्जनले जानकारी दिए । गुम्बाका प्रमुख लामा पाल्छाङ लामा ज्यूले गुम्बा समितिका सदस्य विश्व लामा स्याङ्तानलाई स्वागत गर्दै स्याङ्तानकै उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो ।

सोमबार हरिवन नगरपालिका, २, लालभित्तीमा रहेको गुम्बालाई पनि राहत सामाग्री वितरण गर्ने कार्यक्रम रहेको समितिका सदस्य स्याङ्तानले जानकारी दिएका छन् । हाल गुम्बा परिसर भित्र बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिकै ५ लाख बराबरको आर्थिक सहयोगमा श्रद्धालु भक्तजनहरुलाई केही सहजताका लागि भनेर भवन हल निर्माण भैरहेको जानकारी गराए ।

वि. सं. २०६३ सालमा स्थापना भएको गुम्बामा बेलाबेला विश्व शान्ति पूजा, ङ्यङ्ने व्रत, गोने ङ्यामा पूजापाठ लगायत बौद्ध धर्म अनुसार विवाह, पूजापाठ, ग्रहदशा शान्ति गर्न, आफन्तका कर्मकाण्डको कार्यक्रमहरु गर्न भक्तजनहरु आउने जाने गर्ने गर्दछन ।