logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चक्काजामपछि नवलपुर चाेकमा सडक बनाउन सुरु


  • उज्यालो अभियान

नवलपुर – स्थानीय वासिन्दाले चक्काजाम गरेपछि सर्लाहीको नवलपुरस्थित पूर्व–पश्चिम राजमार्ग मर्मत गर्न सुरु गरिएको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन सडक कार्यालयले शुक्रवार बिहानबाट सडक मर्मतको काम थालेको हो । लामो समयदेखि सडक जिर्ण भएकाले धूलो उडेर बस्नै नसक्ने अवस्था भएको भन्दै स्थानीय वासिन्दाले बिहिवार अपरान्ह केहीबेर राजमार्ग अवरुद्ध पारेका थिए ।

त्यसपछि सडक कार्यालयका प्रमुखले तत्काल मर्मतको काम अघि बढाउने प्रतिवद्धता जनाएका थिए । उक्त प्रतिवद्धता अनुसार शुक्रवार बिहानैदेखि कालोपत्रे भत्किएको ठाउँमा मर्मत गर्न सुरु भएको नवलपुर चाेकका व्यवसायी दीपक श्रेष्ठले बताए ।

राजमार्ग मर्मतको माग गर्दै केही दिनअघि हरिवनस्थित नयाँरोडका स्थानीय वासिन्दाले पनि चक्काजाम गरेका थिए । त्यहाँ पनि अहिले सडक मर्मत भएपछि धूलोबाट मुक्ति मिलेको स्थानीयवासी श्रीकृष्ण उप्रेतीले बताए ।

सर्लाहीमा अहिले पूर्व–पश्चिम राजमार्गको कालोपत्रे उप्किएर दर्जनौँ स्थानमा ठूल्ठूला खाल्डाखुल्डी परेका छन् । खाल्डाखुल्डीले दुर्घटना बढाएको छ भने धूलो उड्दा सडक छेउछाउ घर तथा पसल व्यवसाय भएकाहरु हैरान भइरहेका छन् । लखन्देही र चापिनी पुल त अत्यन्त जीर्ण हुँदा साना सवारी साधन समेत दाेहाेराे आवागमनमा समस्या भाेग्नु परेकाले घण्टाैंसम्म जाम हुने गरेकाे छ ।