फाइल तस्बीर ।
नारायणखोला – सर्लाही प्रहरीले लालबन्दी नगरपालिका–१४ मा ६ बिघा जमिनमा गरिएको गाँजा खेती फडानी गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नारायण खोलास्थित कामिटार, मोटरदोभान, तोरीबारी, हात्तीसुँढे र ब्रह्मस्थानमा लगाइएको गाँजा खेती नष्ट गरेको हो । गाँजा फडानी गर्न सशस्त्र प्रहरी बलको हरिवन बेस क्याम्पबाट डीएसपी दीपेन्द्र थापा र जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट इन्सपेक्टर सुरेश ठाकुरको कमाण्डमा प्रहरीको संयुक्त टोली आइतवार दिउँसो नारायण खोला पुगेको थियो ।
सशस्त्र र नेपाल प्रहरीको दुवै टोलीले ६ बिघामा लगाइएको करिव ५० हजार बोट गाँजा फडानी गरेर फर्किएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले बताए । नारायण खोला जिल्लाकै सबै भन्दा दुर्गम क्षेत्रमा पर्छ ।

चुरेभेगमा पर्ने त्यस ठाउँका वासिन्दाले राम्रो आम्दानी हुने देखेर केही वर्षअघिदेखि अन्य बाली लगाउन छाडी व्यावसायिक रुपमा अवैध लागूऔषध गाँजाको खेती गर्दै आएका छन् । प्रहरीले बर्सेनि त्यहाँ पुगेर गाँजा फडानी गर्दै आइरहेको भएपनि स्थानीयवासीले त्यसको खेती गर्न भने छाडेका छैनन् ।