धनकौल – सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने धनकौल गाउँपालिकाको नवनिर्मित भवन सोमवार उद्घाटन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष राम आश्रय साहको अध्यक्षतामा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले गाउँपालिकाको भर्खरै निर्माण पूरा भएको नयाँ भवनको उद्घाटन गरेका हुन् । धनकौल बजार नजिकै भाडाको साँघुरो घरबाट संचालन भइरहेको गाउँपालिकाको अब आफ्नै भवन बनेपछि सेवा प्रवाहमा सहजता आउने भएको छ ।
भवन उद्घाटन समारोहमा गाउँपालिकाको विकासमा सहयोग पु¥याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अकली सहनी, छिमेकी बसबरिया गाउँपालिकाका अध्यक्ष राम अयोध्या राय, प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनिया, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह लगायतको आतिथ्यता रहेको थियो ।