ईश्वरपुर – सर्लाहीको ईश्वरपुर वडा नं. ११ बेलामा सेवाग्राहीसँग घुसलिने दुई जना वडा सदस्य सोमवार रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले बेलाका वडा सदस्य द्वोय सोनेलाल साह र उमेश रायलाई सेवाग्राहीसँग घुस लिँदालिदै पक्राउ गरेको हो । ढलान सम्वन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग लिएको एक लाख ५० हजारसहित वडा सदस्य साह र रायलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
वडा सदस्य सोनेलाल साहले लालबन्दी नगरपालिका–७, स्थित लालबन्दी बजारमा संचालन गरेको कृष्ण इन्टरप्राइजेजबाट उनीहरुलाई सोमवार दिउँसो घुस रकमसहित अख्तियारको टोलीले रङ्गे हात पक्राउ गरेको हो । बेला भलुवाहीमा भर्खरै २५ लाख बजेटबाट सडक ढलान कार्य सम्पन्न भएको छ ।
उक्त सडक ढलान गर्ने उपभोक्ता समितिसँग घुस लिँदालिँदै वडा सदस्य द्वोय साह र राय पक्राउ परेका हुन् । उनीहरुलाई अख्तियारको बर्दिवास कार्यालयले थप अनुसन्धानका लागि काठमाण्डौंस्थित केन्द्रीय कार्यालयमा पठाउने तयारी गरिरहेको छ ।