नयाँरोड – सर्लाहीको हरिवन नगरपालिकास्थित नयाँरोडका स्थानीय वासिन्दाले पूर्व–पश्चिम राजमार्ग मर्मतको माग गर्दै सुक्रवार दिउँसो एक घण्टा राजमार्गमा चक्काजाम गरेका छन् ।
महिनौँअघि भत्किएको राजमार्ग मर्मतका लागि बेवास्ता गरिएको भन्दै आक्रोशित भएका स्थानीयवासीले नयाँरोड चौकमा सुक्रवार दिउँसो २ बजेदेखि ३ बजेसम्म एकघण्टा सवारी आवागमन ठप्प पारेका हुन् । राजमार्गमा कालोपत्रे उप्किएर अत्यधिक धूलो उड्दा घरमा बस्नै नसक्ने अवस्था रहेको स्थानीयवासीले गुनासो गरेका छन् ।
यसबारेमा रौतहटको चन्द्रनिगाहपुरस्थित डिभिजन सडक कार्यालयमा पटक–पटक जानकारी गराउँदा समेत बेवास्ता गरिएपछि सुक्रवार बाध्य भएर चक्काजाममा उत्रिनु परेको स्थानीयवासी समेत रहेका अनेरास्ववियू सर्लाहीका कार्यालय सदस्य मोहितराज खड्काले जानकारी दिए । खड्काका अनुसार कालोपत्रे उप्किएर अत्यन्तै जिर्ण बनेको राजमार्गमा दिनहुँ सवारी दुर्घटना हुने गरेका छन् ।
डिभिजन सडक कार्यालयका प्रमुखले हरिवन प्रहरीसँगको टेलिफोन कुराकानीमा आगामी सोमवारसम्म राजमार्ग मर्मत गरी कालोपत्रे गर्ने प्रतिवद्धता जनाएपछि स्थानीयवासीले चक्काजाम खुल्न दिएका छन् । सडक भत्किएको लामो समयसम्म मर्मत नहुँदा स्थानीयको दैनिक प्रभावित हुनुका साथै यात्रुहरु पनि मारमा परिरहेका अर्का स्थानीयवासी एवं नेकपा एमाले सर्लाही जिल्ला कमिटीका सदस्य श्रीकृष्ण उप्रेतीले बताए ।
नयाँरोडसहित सर्लाहीका अन्य स्थानमा पनि पूर्व–पश्चिम राजमार्गको अवस्था असाध्य खराब रहेको छ । दशैँअघि मात्रै राजमार्गमा खाल्डाखुल्डी पुरपार पारिएको थियो ।
अहिले फेरि उत्तिकै खाल्डाखुल्डी भइसकेका छन् । यस्तै, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको चापिनी र लखन्देही पुल समेत अत्यन्तै जिर्ण बन्दा सवारी आवागमन प्रभावित भइरहेको छ ।