बरहथवा – सर्लाहीको बरहथवामा रहेको ईलाका प्रहरी कार्यालयका डीएसपी फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले बिहिवार देशभरका ९५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गर्दा बरहथवाका डीएसपी उद्धवसिंह भाटको पनि सरुवा भएको हो । डीएसपी भाट अघिल्लो वर्षको भदौमा ईलाका प्रहरी कार्यालय बरहथवाको इन्चार्जका रुपमा काज सरुवा भएर आएका थिए ।
प्रहरी संगठनभित्र उनी हुलहज्जत, बन्द हड्ताल र प्रदर्शनजस्ता घटनाहरुमा भीड नियन्त्रणका लागि माहिर मानिन्छन् । जिल्लामा रहँदा पनि कहीँकतै असहज स्थिति सिर्जना हुनासाथ उनलाई नै खटाइन्थ्यो ।
ईप्रका बरहथवामा इन्चार्जको रुपमा बसेपनि डीएसपी भाटको दरबन्दी भने बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय हेटौंडा, मकवानपुरमा थियो । उनलाई त्यहाँबाट अहिले प्रहरी प्रधान कार्यालय यूएन जगेडा नक्साल, काठमाण्डौंमा सरुवा गरिएको हो ।
बरहथवामा नयाँ डीएसपीका रुपमा उमाशंकर प्रसाद यादवको काज सरुवा गरिएको छ । डीएसपी यादव हाल नेपाल प्रहरी विशेष सुरक्षा गण, तनहुँमा कार्यरत छन् ।
दरबन्दी नरहेपनि प्रहरी प्रधान कार्यालयले गत वर्षदेखि सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने बरहथवा बजारस्थित ईलाका प्रहरी कार्यालयमा डीएसपी खटाउन थालेको हो । हाल दरबन्दी कायम नभएकाले गत वर्षदेखि बरहथवामा काजमै भएपनि डीएसपी खटाउन थालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीमा मुद्दा चल्ने ‘क’ बर्गका ५ वटा ईलाका प्रहरी कार्यालयहरुमध्ये ईप्रका बरहथवामा गत वर्षदेखि डीएसपीले नेतृत्व सम्हाल्दै आएका छन् । बयलवास, लालबन्दी, हरिवन र हरिपुरमा रहेका ईलाका प्रहरी कार्यालयहरुमा भने प्रहरी निरीक्षक (इन्सपेक्टर) ले नै नेतृत्व सम्हाल्दै आएका छन् ।
केही समयअघि जिल्ला सुरक्षा समितिले हरिवन र बरहथवामा रहेका ईलाका प्रहरी कार्यालयमा डीएसपीको दरबन्दी कायम गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो । जसअनुसार बरहथवामा गतवर्षदेखि काजमा डीएसपी खटाउन थालिएपनि हरिवनमा इन्सपेक्टरले नै नेतृत्व सम्हाल्दै आइरहेका छन् ।