सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – सर्लाही प्रहरीलाई घुमुवा प्रहरीरहित बनाइएको छ ।
आपराधिक गतिविधि र अन्य घटनाहरुको सूचना सङ्कलनका लागि खटाइने गरिएको घुमुवा प्रहरीले जिम्मेवारीअनुसार काम नगरेर सङ्गठनकै बदनाम गर्न थालेको भन्दै घुमुवा प्रहरी नै हटाइएको हो ।
सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले शिविल प्रहरी घुमुवाले सूचना दिनेभन्दा बढी बदनाम गराउन थालेकाले हटाइएको बताए। “जिल्लाबाट खटाइएका दुई जना र मातहतका युनिटहरुमा रहेका अन्य सिविल प्रहरीले सूचना दिनेभन्दा बढी बद्नाम गर्ने काम गरे, म आएपछि उनीहरुलाई हटाइसकेको छु” प्रहरी उपरीक्षक प्रसाईले भने, “अब कुनै घटना भए घटनाको प्रकृतिअनुसार जिल्ला र मातहतका यूनिटहरुबाटै विशेष प्रहरी टोली परिचालन हुन्छ ।”
स्थानीयवासी, तालूक कार्यालय, संचारकर्मी, अन्य सरोकारवाला लगायतबाटै सूचना लिएर शान्तिसुरक्षा कायम गर्दै आपराधिक गतिविधि नियन्त्रणका लागि काम गर्ने योजना बनाइएको प्रहरी उपरीक्षक प्रसाईले बताए । उनकाअनुसार यसअघि सिविलमा खटाइएको प्रहरीलाई पोसाक लगाएर नियमित डिउटीमा लगाइसकिएको छ ।
प्रहरी उपरीक्षक प्रसाई १२ दिनअघि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भएका थिए । प्रसाईले प्रहरी सङ्गठनभित्रका कमी कमजोरीलाई सुधार गर्दै आम नागरिकले न्याय र शान्ति सुरक्षाको महशुस गर्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गोरखापत्र अनलाईनबाट साभार