logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

तिहारकै दिनमा घरमा आगलागी, ४ लाख बराबरको क्षति, एक जना घाईते


  • उज्यालो अभियान

कालिन्जोर – चुरेभेगमा पर्ने सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १२, गुइडुङमा शनिवार तिहारकै दिन एक घरमा आगलागी भएको छ ।

आगलागीमा परेर त्यस ठाउँका ठगेन्द्र बहादुर पाख्रिनको घर पूर्णरुपमा जलेर खरानी भएको स्थानीयवासीले बताएका छन् । शनिवार दिउँसो ३ बजेतिर पाख्रिनको घरमा अचानक आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन् ।

आगालागीबाट घरसहित पाख्रिनको छोराले तिहार मनाउन काठमाण्डौंबाट पठाएको ५० हजार नगद, अन्नपात, लत्ताकपडा लगायत सबै सरसामग्री जलेर नष्ट भएको गुइडुङका स्थानीयवासी वीर बहादुर थिङले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए । आगोमा परेर लगाउने कपडा समेत सबै खरानी भएपछि पाख्रिन परिवारको बिचल्ली भएको थिङले बताएका छन् ।

उनका अनुसार आगलागीमा परेर झण्डै ४ लाख बराबरको क्षति भएको छ । घरमा आगो लाग्नासाथ चुरेपाखोमा पर्ने त्यस ठाउँका गाउँलेहरु मिलेर पानी हालेपनि घर जल्नबाट जोगाउन सकेनन् ।

आगलागीमा परेर जल्दा घरधनी ठगेन्द्रका भाई वुद्ध बहादुर पाख्रिन सामान्य घाईते भएका छन् । आगलागी भएको गुइडुङ गाउँ घारिबथानबाट झण्डै दुई घण्टा चुरेपाखोको बाटो पैद्ल हिँडेर जानुपर्छ ।