जबरजस्ती करणीको आरोपमा पक्राउ गरी ईलाका प्रहरी कार्यालय केशरगन्ज ल्याइएका गोले ।
कालिन्जोर – सर्लाहीको ईश्वरपुर नगरपालिका-१२, लामिदमारमा ७ वर्षीया नाबालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लामिदमारकै ३१ वर्षीय किर्तिमान गोले रहेका प्रहरीले जनाएको छ । गोलेले मावली घरमा हजुरआमासँगै बस्ने ती नाबालिकालाई गएको बैशाख १० गते चाउचाउ दिन्छु भन्दै ललाइफकाइ नजिकै आफन्तको खाली घरमा लगेर करणी गरेको पाइएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाका बुवाआमा ज्याला मजदुरीका लागि लालबन्दीमा बस्दै आएका छन् । बुवाआमा हिजो (बिहिवार) घर फर्किएपछि बालिकाले आफूमाथि किर्तिमानले करणी गरेको बताएकी थिईन् । त्यसपछि सो घटनाबारे पीडित परिवारले हिजो (बिहिवार) बेलुका बयलवासस्थित ईलाका प्रहरी कार्यालय केशरगञ्जमा जानकारी गराएका थिए ।
घटनाबारे जानकारी पाउनासाथ आज (सुक्रवार) बिहान बयलवासबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको नेतृत्वमा घटनास्थलतर्फ गएको प्रहरीले आरोपी किर्तिमानलाई घरबाटै पक्राउ गरेको हो । किर्तिमानविरुद्ध जवरजस्ती करणी मुद्दा दायर गरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो । पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनको स्वास्थ्य परीक्षणका जिल्ला अस्पताल मलङ्गवातर्फ पठाइएको छ ।
लामिदमार, ईश्वरपुर नगरपालिका वडा नं. १२ कालिन्जोर घारिबथानको विकट चुरेक्षेत्रमा पर्ने गाउँ हो । घारिबथानबाट गाडीमा बाँके खोलाको बाटो हुँदै लामिदमारसम्म पुग्न एक घण्टा भन्दा बढी समय लाग्छ ।