लालबन्दीमा प्रचण्ड–नेपाल समूहको कार्यक्रममा उपस्थित नेताहरु । (तस्बिर : उज्यालो अभियान)


लालबन्दी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल–खनाल समूहले वुधबार सर्लाहीको लालबन्दीमा कार्यकर्ता भेला एवं अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।


भेलाले संसद् विघटनको विरुद्धमा आन्दोलनका लागि २०१ सदस्यीय लालबन्दी नगर स्तरीय जन परिचालन एवं संघर्ष समिति समेत गठन गरेको सो समूहकी नेतृ एवं प्रदेश सभा सदस्य बेची लुंगेलीले जानकारी दिईन् । पार्टीका प्रदेश सह–इन्चार्ज नागेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा आयोजित भेलाले प्रतिगामी कदमको विरुद्धमा भन्दै नेता लेखराम जर्गा मगरको अध्यक्षतामा समिति गठन गरेकोे हो ।
भेलामा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, प्रदेश सभा सदस्य लुंगेली, नेता रवीद्र बैठा, जिल्ला अध्यक्ष रेवती पन्त, सचिव कमल बुढाथोकी, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, नेताहरु सुरेन्द्र लामा, डिल्ली अधिकारी, लुमडीप्रसाद धिमाल लगायत प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताहरुको उपस्थिति थियो । जिल्लामा अहिले ओली समूह र प्रचण्डनेपाल समूहले बेग्लाबेग्लै भेलाहरु गरी कार्यकर्ता तानातानमा प्रतिस्पर्धा गरिरहेका छन् ।
वुधबार नै ओली समूहले बरहथवामा अगुवा कार्यकर्ता भेला गरेको छ । नरनारायण सहनीको अध्यक्षता एवं संविधान सभा सदस्य हरि उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित भेलामा नेता शिवपुजन राय, रामबहादुर राय, केदार खत्री, नेतृ कल्पना कटुवाल लगायतको उपस्थिति थियो ।
