मलंगवा, ३० साउन – केन्द्र सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री खडकराज पौडेल उर्फ गनेसले सर्लाहीका धार्मिक तथा पर्यटकीयस्थलको भ्रमण गरेका छन् ।
मधेश प्रदेशका ऐतिहासिक तथा पर्यटकीयस्थलहरुको भ्रमण गर्न हिजो मधेश झरेका मन्त्री पौडेलले आज दिनभर सर्लाहीका प्रशिद्ध धार्मिक तथा पर्यटकीयस्थलहरु भ्रमण गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासमेत रहेका मन्त्री पौडेललाई सर्लाहीमा बागमती, हरिवन, नवलपुर, लालबन्दी, चन्द्रनगर, मलंगवालगायतका स्थानमा पार्टीका कार्यकर्ताले स्वागत गरेका छन् ।
पर्यटनमन्त्री पौडेलले सर्लाहीमा नवलपुरको रामजानकी मन्दिर, पर्यटकीयस्थल पत्थरकोट, सागरनाथ महादेव मन्दिर, चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल, कविलासीस्थित चमेलीमाई मन्दिरलगायत स्थानका पर्यटकीयस्थलको अवलोकन गरेका राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाहीका सभापति सरोज बानियाँले उज्यालो अभियानसँग बताए ।
उनलाई रास्वपा मधेश प्रदेशका सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य तपेश्वर यादवसहित सर्लाहीका प्रतिनिधि सभा सदस्य नीतिमा भण्डारी कार्की, रवीन महतोलगायतले पर्यटकीयस्थल तथा विभिन्न आयोजनाहरुको भ्रमण गराएका छन् ।
मन्त्री पौडेल आएर भ्रमण गरेसँगै यस क्षेत्रका ऐतिहासिक पर्यटकीयस्थलहरुको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । मन्त्री पौडेललाई चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले तालमा आगामी दिनमा गर्न लागिएका योजना सुनाउँदै संघीय सरकारको तर्फबाट सहयोग गरिदिन फाइल हस्तान्तरण गरेका छन् ।
मन्त्री पौडेलले हरिपुरको चिताइन महादेव मन्दिर भ्रमण गर्न भने भ्याएनन् । चिताइन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र धामीले मन्त्री पौडेललाई दिनभर कुरे पनि साँझ अबेर समय अभाव भएकाले भ्याउन नसकिएको भन्ने जवाफ आएको उज्यालो अभियानसँग बताए ।
पर्यटनमन्त्री पौडेल सर्लाहीका धार्मिक तथा पर्यटकीयस्थलहरुको अवलोकन गरी आजै साँझ महोत्तरीको बर्दिवासतर्फ प्रस्थान गरेका छन् ।