logo
  • बिहिबार, साउन २८, २०८३ / Thursday, Aug, 13 ,2026

ब्लड क्यान्सर बालिकाको उपचार खर्च जुटाउन सहयोग संकलन गरिँदै


  • उज्यालो अभियान

हरिवन, २८ साउन – ब्लड क्यान्सर पीडित ६ वर्षीया बालिका सुदीक्षा मगरको उपचारका लागि सहयोग जुटाउने उद्देश्यले हरिवन नगरपालिका–८, का स्थानीय आर्थिक सहयोग जुटाउन लागिपरेका छन् ।

आर्थिक अवस्था कमजोर रहेको मगर परिवारलाई सुदीक्षाको उपचारमा आर्थिक समस्या पर्न थालेपछि गाउँका केही अगुवा मिलेर सहयोग संकलन अभियान चलाएका हुन् । ‘सुदीक्षा मगर बचाउँ अभियान’ सुरु गरेको तेस्रो दिन हिजो बुधबारसम्म एक लाख दुई हजार ३७० रुपियाँ संकलन भइसकेको र आज पुनः अभियानलाई निरन्तरता दिइने अभियानमा सक्रिय हरिवन ८ कै स्थानीय चूडामणि वाग्लेले जानकारी दिए ।

स्थायी ठेगाना हरिवन नगरपालिका–२, अत्रौली भए पनि सुदीक्षा हरिवन नगरपालिका–८, डाँडाटोलस्थित मामाघरमा हजुरआमा गीता मगरसँग बस्दै आएकी थिइन् । ब्लड क्यान्सर पीडित सुदीक्षाको अहिले कान्ति बाल अस्पताल काठमाडौँमा उपचार जारी रहेको परिवारले बताएको छ ।

छोरी सुदीक्षालाई प्राणघातक रोग ब्लड क्यान्सर भएपछि वैदेशिक रोजगारीमा रहेका बुवा, आमा नेपाल फर्किएका छन् । बालिकाको बुवाआमा नै उपचारका लागि काठमाडौँमा बस्नुपरेको र घरको आर्थिक अवस्था नाजुक रहेकाले गाउँलेहरु मिलेर आर्थिक सहयोग संकलनमा जुटेको वाग्लेले बताए ।

हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुंगानासहितको टोली ‘सुदीक्षा मगर बचाउँ अभियान’ लेखिएको ब्यानर बोकेर स्थानीयको घरघरमा पुगेर आर्थिक संकलन गरिरहेको छ । सुदीक्षाको उपचारका लागि करिव दुई लाख रुपियाँ संकलन गर्ने उद्देश्य रहेको अभियन्ताहरुले बताएका छन् ।