लालबन्दी, ३१ साउन – सर्लाहीका विभिन्न स्थानमा आज दिउँसोदेखि वर्षा भइरहेको छ ।
जिल्लाको चुरेभेग, महेन्द्र राजमार्ग र दक्षिणवर्ती क्षेत्रका पनि धेरै ठाउँमा पानी परिरहेको हो । पानी परिरहँदा स्थानीयले शित्तलता महसुस गर्न पाएका छन् ।
पानी नपरेर मौसम धुम्मिएको क्षेत्रमा पनि गर्मीबाट राहत पाएको स्थानीयको भनाइ छ । पानी परेसँगै धानबालीसहित अन्य बालीनालीलाई फाइदा पुगेको भन्दै किसान खुसी भएका छन् ।
उत्तरी भेगका कतिपय ठाउँमा ठुलो पानी परिरहेकाले आकस्मिक बाढी आउन सक्ने भएकाले पुल नभएको ठाउँबाट खोला वारपार गर्ने तथा तटीय क्षेत्रमा बसोवास गर्ने वासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।