logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हाइवेमा बोलबमयात्रुको आउजाउ कायमै


  • उज्यालो अभियान

फाइल तस्बीर ।

बागमती, ३१ साउन – सर्लाहीको पूर्वपश्चिम महेन्द्र हाइवेमा बोलबमयात्रुको बाक्लो आउजाउ कायमै रहेको छ ।

विशेष गरी सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा जल उठाउन आउने बोलबमयात्रु (कावरिया) को हाइवेमा ओहोरदोहोर बढेको पाइएको हो । बागमतीको जल उठाएर महोत्तरीको टुटेश्वरनाथ महादेव मन्दिरसहित नेपालकै विभिन्न जलाशय र भारतका मन्दिरहरुमा समेत लगेर चढाउने गरिन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार राजमार्गमा पैदल, साइकल, मोटसाइकल, जीप, टेम्पु, ट्याक्टरलगायतका सवारीमा बोलबमयात्रुहरु हिँडिरहेका छन् । इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्रबिक्रम बर्तौलाले हाइवेको अवस्था सामान्य नै रहेको उज्यालो अभियानसँग बताए ।

बागमतीमा जल उठाउन आउनेहरु धेरै हुँदा अघिल्ला वर्षहरुमा सर्लाहीको बागमती क्षेत्रमा अत्यधिक जाम परेर प्रहरी तथा ट्राफिकलाई राजमार्ग सञ्चालनमा ल्याउन हम्मेहम्मे पर्ने गरेको भए पनि यो वर्ष धेरै मानिस नआएका स्थानीयको भनाइ छ ।

बागमतीका स्थानीय वासिन्दाले पोहोरपरार जस्तो बोलबमयात्रुको चाप खासै नरहेको बताइरहेका छन् । सर्लाही, रौतहट, बारालगायतका जिल्ला र भारतबाट पनि ठुलो सङ्ख्यामा मानिसहरु महोत्तरीको टुटेश्वरनाथ महादेव मन्दिर दर्शन तथा मेलामा गइरहेकाले राजमार्गमा चाप बढेको हो ।

महिनाको हिसाबले आजदेखि साउन महिना सकिए पनि तिथीका हिसाबले अझै दुईवटा सोमबार महादेव मन्दिरमा दर्शनका लागि पुग्नेहरु धेरै नै हुने व्रतालुहरुले बताएका छन् ।

साउन महिनाका कारण अहिले अटो, टेम्पु, म्याजिकलगायतका साना सवारीले महोत्तरीको टुटेश्वरनाथ महादेव मन्दिरसहित जिल्लाभित्रका विभिन्न महादेव मन्दिरसम्म पुग्ने यात्रु प्रशस्त मात्रामा पाइरहेका छन् ।