बबरगन्ज, ०३ भदौ – सर्लाहीको चन्द्रनगर गाउँपालिका-४, पोखरियामा छ वर्षअघि खोलिएको कृषि सडकमा विवाद सिर्जना भएपछि स्थानीय किसान मारमा परेका छन् ।
किसानको भेलाबाट निर्णय गरी २०७७ सालमा पोखरियास्थित बबरगन्ज-पोखरिया सडकसँग जोडेर पूर्वतर्फ करिव एक किलोमिटर कृषि सडक खोलिएको थियो । दुई दिनअघि कृषि सडकको मुखैमा जग्गा पर्ने स्थानीय रामनरेश साहले बाटोलाई जग्गा नदिने र पोल पनि गाड्न नदिने अडान लिएपछि किसान थप प्रभावित बनेका छन् ।

किसान र वडा कार्यालयको पहलमा गत असार २१ गते नेपाल विद्युत प्राधिकरणको मलंगवा वितरण केन्द्रले कृषि सडकमा सिँचाईका लागि सहजहोस् भनी बिजुलीको पोल ल्याएर गाड्ने र तार तान्ने काम गरेको थियो । चन्द्रनगर गाउँपालिका-४, गढा टोलका शिवचन्द्र रायले लामो प्रयासपछि कृषि सडक खोल्ने र बिजुलीको पोल गाड्ने काम गरे पनि सञ्चालन गर्न नसकिएको गुनासो गरेका छन् ।
बाटो नहुँदा किसानलाई आउजाउ गर्न समस्या परेको, खेत जोत्न लान र फलेको अन्न घरसम्म ल्याउन ट्याक्टर जाने ठाउँसमेत नहुँदा सबै किसान मिलेर बाटो खोलेको भए पनि विवाद भएपछि किसान समस्यामा परेका रायको भनाइ छ । उनले भने, “किसानलाई खेतमा जानआउनै दुःख भएपछि किसानको भेला गरी बाटो खोल्यौँ तर चलाउन सकिएन् ।”
चन्द्रनगर गाउँपालिका-४, पोखरियाका रामछविला साहले कृषि सडक खोल्न नेतृत्व गरेकै कारण आफ्नो दाजुमाथि कुटपीट हुन पुगेको बताए । गाउँघरमा भएको यो सामान्य विवादको विषयलाई सर्लाही १ की प्रतिनिधि सभा सदस्य नीतिमा भण्डारी कार्कीले प्रतिनिधि सभाको गत असार २५ गते बसेको बैठकमै उल्टोपाल्टो गरी उठाएपछि समस्या थप जटिल बनेको रामछविलाको भनाइ छ ।

प्रतिनिधि सभा सदस्य कार्कीले प्रतिनिधि सभाको बैठकमा बोल्दा ईश्वरपुर नगरपालिकाका पूर्व प्रमुखको श्रीमानले महिलामाथि हातपात गरेको भनी सम्वोधन गरेकी थिईन् । पछि फेसबुक स्टाटसमार्फत उनले उक्त अभिव्यक्ति सच्याउँदै चन्द्रनगर गाउँपालिकाकी पूर्व उपाध्यक्षको श्रीमानले कुटपीट गरेको भनी उल्लेख गरेकी थिईन् ।
स्थानीय किसानले सांसद कार्कीको सम्वोधनपछि कृषि बाटो झनै अलपत्र परेको र सयौँ परिवार प्रभावित भएको भन्दै फिल्डमै आएर समस्या बुझिदिन माग गरेका छन् । जग्गा नदिने रामनरेश साह सत्ताधारी रास्वपाका ४ नम्बर वडा रहेकाले सांसद कार्कीले उनकै परिवारको पक्ष लिएको आरोप गाउँलेको छ ।
पोखरियाका रामचन्द्र पासवानले कृषि सडक बनेपछि आफूले नजिकै लगेर फुसको घर बनाएर बस्न थाले पनि विवाद भएर सडक सहज रुपमा प्रयोग गर्न नपाएको गुनासो गरेका छन् ।
चन्द्रनगर गाउँपालिका ४ का वडाध्यक्ष राजीव सिंह दनुवारले कृषि सडकको मुखैमा जग्गा पर्ने किसानले जग्गा नदिँदा समस्या परेको बताए । कृषि सडकमा दुई वर्षअघि सात लाख रुपियाँ बजेट विनियोजन गरी ग्राभेल गरेर स्तरोन्नति गर्न खोजे पनि मुद्दा परेपछि काम गर्न नसकेको वडाध्यक्ष दनुवारको भनाइ छ ।

त्यसबेला दुई/चार टिप्पर ग्राभेल हाले पनि मुद्दा परेपछि काम रोक्नु परेकाले भएको कामको धरी भुक्तानी हुन नपाएको वडाध्यक्ष दनुवारको भनाइ छ । उनले भने, “किसानले आग्रह गरेपछि सडकमा ग्राभेल गर्न खोजियो तर मुद्दा परेर उच्च अदालतबाट ‘स्टे अर्डर’ नै जारी भएपछि केही गर्न सकिएन् ।”
कृषि सडकको मुखैमा जग्गा पर्ने जग्गाधनी किरण कुमारीले आफ्नो सहमतिबिनै कृषि बाटो खोलिएको दावी गरेका छन् । आफ्नो एक कठ्ठा साढे सात धुर घडेरी रहेको र त्यसैको बिचबाट बाटो निकाल्न खोजिएको उनको भनाइ छ ।
जग्गाको छेउबाट बाटो निकाल्न दिन तयार रहेको तर बिचबाट नदिने उनको अडान छ । किरण कुमारीका श्रीमान रामनरेश साहले आफूहरुले बिजुलीको पोल उखेलेर फालेको नभइ जग्गा सम्याउन स्काभेटर लाँदा लागेर भाँचिएको दावी गरेका छन् ।
उनले अदालतमा गएर मुद्दा हालेपछि आफूहरु माथि पनि कुटपीट भएको दावी गरेका छन् । कृषि सडकमा मुखमै पर्ने बिजुलीको पोल उखेलेर फालिदिएपछि किसान कृषि विद्युतीकरणबाट बन्चित भएका छन् ।

यो कृषि सडक र कृषि विद्युतीकरण सञ्चालनमा आए सयौँ बिघा खेतमा सिँचाई सुविधा पुग्ने अवस्था रहेको किसानले बताएका छन् । कृषि सडकको विवाद मिलाउन इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासमा बारम्बार छलफल भए पनि सहमति जुट्न सकेको छैन् ।
विवाद समाधान नहुँदा छ वर्षअघि खोलिएको कृषि सडक अलपत्र परेको छ । मुखकै बिजुलीको पोल उखेलेर फालिएपछि लाइन जोड्न नपाउँदा किसानले कृषि मोटरसमेत राख्न पाएका छैनन् ।