logo
  • शुक्रबार, साउन २९, २०८३ / Friday, Aug, 14 ,2026

बेलामा वडा, हेल्थपोस्ट र बर्थिङ सेन्टर भवन एकैसाथ उद्घाटन


  • उज्यालो अभियान

बयलवास, २९ साउन – सर्लाहीको ईश्वरपुर नगरपालिका–१०, बेलामा वडा कार्यालय, स्वास्थ्य चौकी र बर्थिङ सेन्टरको भवन एकैसाथ निर्माण सम्पन्न भएका छन् ।

तीनवटै कार्यालयको हिजो औपचारिक रुपमा उद्घाटन गरिएको छ । मधेश प्रदेश सरकार, नगरपालिका र वडा कार्यालयको बजेट खर्चिएर वडा, हेल्थपोष्ट र बर्थिङ सेन्टर एकसाथ निर्माण गरिएको वडाध्यक्ष रासनारायण चौधरीले जानकारी दिए ।

ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रन्जितादेवी चौधरी र वडाध्यक्ष रासनारायण चौधरीले आज संयुक्त रुपमा तीनवटै कार्यालयको उद्घाटन गरेका हुन् । ईश्वरपुर १० मा यसअघि साबिकको बेला गाउँ विकास समिति (गाविस) को भवनबाट वडा कार्यालय संचालन गरिँदै आएको थियो ।

प्रदेश, नगर र वडाको गरेर ५० लाख रुपियाँ बजेट खर्च गरी बैठक कक्षसहितको सुविधायुक्त वडा कार्यालय भवन तयार पारिएको वडाध्यक्ष चौधरीले बताए । दुई तले वडा कार्यालय भवनमा झ्याल हाल्नेसहितका कामका लागि चालु आर्थिक वर्षमा आठ लाख रुपियाँ बजेट विनियोजन गरिएको वडाध्यक्ष चौधरीले जानकारी दिए ।

यस्तै लामो समयदेखि निर्माण अवरुद्ध रहेको स्वास्थ्य चौकी र बर्थिङ सेन्टर भवन गत आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेश सरकारले उपलब्ध गराएको ४० लाख रुपियाँमा निर्माण सम्पन्न गरेर संचालनमा ल्याइएको छ । भवन उद्घाटनकै अवसरमा जग्गादातालगायतलाई वडा कार्यालयले सम्मान गरेको छ ।

ईश्वरपुरमा अब अधिकांश वडा कार्यालय आफ्नै भवन निर्माण गरी संचालनमा आएका छन् । नगरपालिका कार्यालयकै पनि अहिले कार्यालय सञ्चालन रहेको परिसरमै थप अर्को नयाँ प्रशासनिक भवन निर्माण कार्य जारी रहेको छ ।