logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लालबन्दी खानेपानी : उद्घाटन सत्र सम्पन्न, नेतृत्व छान्न मेयरको नेतृत्वमा समिति


  • उज्यालो अभियान

लालबन्दी, ३० साउन – खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको नयाँ नेतृत्व चयनका लागि पहल गर्न नगरप्रमुख वासुदेव अधिकारी संयोजक रहने गरी समन्वय समिति गठन गरिएको छ ।

संस्थाको आज उद्घाटन भएको नवौँ वार्षिक साधारण सभाको बन्दसत्रले नयाँ नेतृत्व बनाउनका लागि मेयर अधिकारी, लालबन्दीमा क्रियाशील विभिन्न ५ राजनीतिक दलका प्रतिनिधी र खानेपानीका अहिलेका अध्यक्ष देवनाथ पोखरेल रहने गरी समिति बनाइएको हो । पोखरेल नेतृत्वको समितिको आगामी भदौ ४ गतेदेखि पदावधि सकिँदै छ ।

मेयरको नेतृत्वमा बनाइएको समितिले अब केही दिनभित्रै नयाँ नेतृत्व चयनका लागि पहल गर्ने छ । समन्वय समितिमा ५ राजनीतिक दल (राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राप्रपाका नगर अध्यक्ष तथा प्रतिनिधिहरु रहेका छन् ।

खानेपानी संस्थाका पूर्व अध्यक्षसमेत रहेका मेयर अधिकारीले पर्सीतिर बैठक बसेर नयाँ समिति चयनका लागि छलफल अघि बढाउने उज्यालो अभियानसँग बताए । आज नै सम्पन्न खानेपानी संस्थाको नवौँ वार्षिक साधारण सभाको उद्घाटन सत्र भने लालबन्दी नगरपालिका ६ लेखाली चौरस्थित संस्थाको कार्यालय परिसरमै सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष देवनाथ पोखरेलको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभामा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेल, नगर विकास कोषका आयोजना मुल्यांकन प्रमुख सुवासराज पन्त, वडाध्यक्षहरु, पार्टीका प्रतिनिधि, सामाजिक अगुवा, उपभोक्तालगायतको उपस्थिति रहेको थियो ।

लालबन्दी खानेपानीले अहिले लालबन्दी नगरपालिकाको ३ देखि १३ नं. वडासम्म र हरिवन २ मा पनि खानेपानी वितरण गर्दै आइरहेको छ ।

संस्थाको ८ हजार बढी उपभोक्ता पुगिसकेका लालबन्दी खानेपानीका कार्यालय प्रमुख सुवास मण्डलले जानकारी दिए । उनका अनुसार साधारण सभामा संस्थाको वार्षिक आयव्यय तथा गतिविधि प्रस्तुत गरिएको छ ।