कविलासी नगरपालिका–१, पिपरिया र पिडारी गाउँबीचमा कालोपत्रे भत्किएर क्षतविक्षत भएपछि हालिएको बालुवामा धुलो उडाउँदै गुडेको जीप । (तस्बिर : उज्यालो अभियान)





हरिवन – सर्लाहीको पूर्व–पश्चिम राजमार्ग स्थित हरिवनदेखि दक्षिण भारतीय सीमा क्षेत्र नजिक कौडेना जोड्ने क्षेत्रिय सडक कालोपत्र पुरा भएको सात महिना मात्र भएको छ । तर दर्जन भन्दा बढी स्थानमा भत्किएर क्षतविक्षत बनिसकेको छ । कतिपय स्थानमा तीन फिट सम्मको गहिरो खाल्डो बनेको छ । ठाउँ–ठाउँमा बनाइएको कल्भर्ट समेत भत्किन थालेको छ । कल्भर्ट भत्केको स्थानमा ठेकेदारले माटो तथा ढुंगा हालेर पुरेको छ ।
कालोपत्रको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सन्सले एकातिर कालोपत्रको काम गर्दै गर्दा अर्का तिर उप्किन थालेको थियो । काम सकेर हस्तान्तरण गर्ने बेला केही स्थानमा उप्किएको कालोपत्र दोह¥याएर गरिएको थियो । काम सकेको सात महिना बितिरहँदा सडक छिया छिया भइसकेको छ । गहिरो खाडलहरुमा सवारी साधन दैनिक रुपमा फस्ने गरेका छन् ।
कालोपत्र उप्किएर ठूला ठूला खाडल बनेकाले अलिकति पानी पर्ने वितिकै हिलाम्मे तथा घाम लागेपछि धुलाम्मे हुँदा उक्त सडक पैदलै पार गर्न पनि सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ । ‘पैदल हिँड्न पनि गा¥हो भइसक्यो, केही महिना अघि मात्र यो सडक कालोपत्र भएको थियो, तर गुणस्तर नभएकाले टिक्न सकेन’, कविलासी नगरपालिका–१ पिपरियाका रामअधार साहले भने, ‘कालोपत्र सडकमा गहिरो खाडलहरु भएकाले दुर्घटनाको जोखिम छ ।’
हरिवन–कौडेना सडक कालोपत्र गर्न पप्पुले ०७३ बैशाख २२ बाट २०७५ जेठ ६ मा सक्ने गरी काम सूरु गरेको थियो । समयमा काम नसकेपछि पटक–पटक गरी एक वर्ष म्याद थप गरिएको थियो । थपिएको समयमा पनि ३० किलोमिटर रहेको सडकमा कालोपत्र पुरा हुनसकेको थिएन । विश्व बैंकको सहयोगमा बन्दै गरेको सडक करिव २१ किलोमिटर कालोपत्र भएपछि दाताले हात झिकेको थियो । बाँकी रहेको ९ किलोमिटर सडक पनि अलपत्र छ ।
गुणस्तर कमजोर भएर भत्केको सडकमा बनाइएका कल्भर्ट समेत भत्किन थालेका छन् । हरिवन र हरिपुर नगरभित्र पर्ने सडकमा बनाइएका कल्भर्टहरु भत्किन थालेका हुन् । भत्किएको कल्भर्टमा ठेकेदारले कतै माटो त कतै ढुंगा भरेर पुरेका छन् । कालोपत्रे सडक र कल्भर्ट भत्केपछि बनेको खाडलमा दुर्घटनाको समेत जोखिम बढेको छ ।
पुर्व–पश्चिम राजमार्ग देखि हुलाकी सडक जोड्ने यो सबभन्दा छोटो सडक हो । छोटो समयमा उत्तरी राजमार्ग र दक्षिणी हुलाकी सडकमा पुग्न सजिलो बनेपछि यस क्षेत्रका स्थानीयलाई सहज भएको थियो । तर सात महिनामै सडकको दुर्दशा देखेर स्थानीय दिक्क भइसकेका छन् । वर्षायाममा यो सडक अवरुद्ध नै बन्ने गरेको स्थानीय राजेन्द्र यादवले बताए । ‘सडक कालोपत्र हुनथालेपछि हामी निकै खुशी भएका थियौं, ग्रामिण क्षेत्रमा कालोपत्रमा हिड्न पाउने भयौं भनेर दंग पनि थियौं, तर अव त यो सडकले दिक्क बनाइसक्यो’, उनले भने, ‘यो भन्दा राम्रो पुरानै ग्राभेल सडक थियो ।’
कालोपत्र सडकको मर्मत गर्ने अवधि एक वर्षको भएकाले सडकको अवस्थाका बारेमा ठेकेदारलाई जानकारी गराइसकिएको सडक नियमन गर्ने पुर्वाधार विकास सम्पर्क ईकाई कार्यालय मलंगवाले जनाएको छ । वर्षा सके लगतै मरम्मतको काम सुरु गर्ने जानकारी ठेकेदार पक्षबाट पाएको कार्यालयका साइट ईन्जिनियर अरुण महतोले बताए । तथापी अहिलेसम्म मर्मत संभारको काम सुरु भएको छैन ।
‘सडकको मर्मत गर्ने अवधि एक वर्षको छ, त्यो पुरा भएको छैन, ठेकेदारलाई भत्केको बारेमा हामीले जानकारी गराइसकेका छौै’, उनले भने, ‘वर्षा सकेपछि मर्मतको अस्वासन पाएका छौं, कल्भर्ट पनि त्यही बेलामा बनाउने काम हुन्छ ।’ उनले ओटासिल प्रविधिको कालोपत्र भएकाले गुणस्तर केही कमजोर देखिएको बताए । महतोले सडकको क्षमता भन्दा बढी भार भएका गाडी निर्वाधरुपमा गुडेकाले पनि सडक चाँडै भत्किएको दावी गरे ।
सडकको लागत अनुमानको २२ प्रतिशत तल गएर पप्पुले १७ करोड ९२ लाखमा कालोपत्रे गर्न ठेक्का सकारेको थियो । पप्पुले गरेको काम गुणस्तर नभएर भत्किँदा सवारी दुर्घटनाको जोखिम बढेको छ । भत्केको कल्भर्टमा माटो हाल्दा पानी निकास पनि हुनसकेको छैन ।