logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

निर्दोषलाई फसाउँन खोजिएको भन्दै बरहथवामा प्रदर्शन


  • उज्यालो अभियान

बरहथवामा गरिएको प्रदर्शनमा सहभागीहरु । (तस्बिर : उज्यालो अभियान )

बरहथवा – घटनामा संलग्न नै नहुँदा समेत मुद्धा लगाएर दुई जना दलित युवकलाई फसाउँन खोजिएको भन्दै सर्लाहीको बरहथवामा आइतवार दिउँसो विरोध प्रदर्शन गरिएको छ ।

दुईवर्ष अघि धनकौलमा आत्महत्या गरेकी सोभिदा देवी पासवानको घटनामा जोडिएको मुद्धामा धनकौल गाउँपालिका–५, का बेचन पासवान र जगदेव पासवानलाई अनावश्यक किटानी जाहेरी दिएर फसाइएको भन्दै विरोध स्वरुप आईतबार बरहथवामा ठूलो संख्यामा दलित समुदाय उपस्थित भई प्रदर्शन गरेका हुन् । नेपाल दलित संघ सर्लाहीका सभापति मदन विश्वकर्मा, दलित अगूवा एवं जनता समाजवादी पार्टीका नेता राजाराम पासवान लगायत नेताहरुको अगुवाईमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनका सहभागीहरुले दोषिलाई कारवाहीको दायरामा ल्याउन र निर्दोषलाई मुद्धा लगाएर फसाउन नहुने माग गरेका छन् ।

दलित अगूवा नेता पासवानका अनुसार सोभिता देविले २०७५ सालमा आत्महत्या गरेकी थिईन् । श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहँदा छिमेकी पुनित पासवानसँग अनैतिक सम्बन्ध भएको र उक्त सम्बन्धहरुको भिडियो सार्वजनिक भएपछि उनले आत्महत्या गरेको दलित नेताहरुको दाबी छ ।

तर उक्त आत्महत्या पश्चात सोभिताका ससुरा भोगेन्द्र हजारीलाई स्थानीय नेताहरुले फकाई फुलाई तथा प्रलोभनमा पारेर पुनित सहित बेचन र जगदेवका विरुद्ध समेत किटानी जाहेरी दिन लगाएको विश्वकर्मा र पासवानले दाबी गरे । मृतक सोभिताका ससुरा हजारीले आईतबार ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक उद्यवसिंह भाँट समक्ष नै पुनित बाहेक अरु कसैलाई किटानी जाहेरी दिन नहुने भनेपनि अनपढ भएकाले अन्य दुईजनाको समेत नाम लेखिएको जाहेरीमा सही गर्न लगाईएको बताएको दलित नेता पासवानले उज्यालो अभियानलाई बताए ।

प्रहरीले केही दिनअघि मात्र पुनितलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्ने डरले बेचन र जगदेव फरार छन् ।