भारतीय समूहले त्रिपाल च्यातेर फालेपछि उदांगो बनेको नारायणपुर नाका स्थित बाँसका टेकोमात्र रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्ट । (तस्बिर : उज्यालो अभियान)
नारायणपुर – भारतीय सिमावर्ती क्षेत्र स्थित सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर नाकामा खटिएको सशस्त्र प्रहरीको गोली प्रहारबाट शुक्रबार बिहान मृत्यु भएका एक भारतीय नागरिकको लास राखेर भारतीय सुरक्षा अधिकारी सहित स्थानीय बासिन्दाले प्रदर्शन गरिरहेका छन् ।
शुक्रबार साँझ साँढे ५ बजेबाट मृतकको शव दशगजा क्षेत्रमै राखेर भारतीय पक्षले दबाब श्रृजना गरिरहेको सर्लाहीका सुरक्षा अधिकारीहरुले बताएका छन् । ‘साँझदेखि शव राखेर भारतीय पक्ष दशगजा क्षेत्रमै बसिरहेका छन्’, सर्लाहीका एक सुरक्षा अधिकारीले शुक्रबार मध्यरातमा उज्यालो अभियानसँग भने, ‘के गर्न खोजका हुन्, स्पष्ट कुरो केहीपनि आएको छैन, त्यसैले हाँमी पनि अलमल्ल परेर यहीँ दशगजा क्षेत्रमै बसिरहेका छौं ।’
शुक्रबार मध्यरात यो समाचार तयार पार्दासम्म नेपाल प्रहरीका सर्लाही प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ सहित सुरक्षा अधिकारी एवं भारतीय पक्षका सिमा सुरक्षाबलका अधिकारीहरु घटनास्थलमै रहेका छन् । सुरक्षा स्रोतका अनुसार भारतीय समकक्षी घटनास्थलमा नआएकाले प्रमुख जिल्ला अधिकारी मोहन जिसी भने घटनास्थल गएका छैनन् । ‘उताबाट पनि सितामाढीका उच्च प्रशासनीक प्रमुख नआई सुरक्षा अधिकारीहरु मात्रै शव राखेर दशगजामा बसिरहेका छन्’, सर्लाहीका एक सुरक्षा अधिकारीले भने, ‘त्यसैले हाम्रो तर्फबाट पनि सीडीओ साहेब आउनु भएको छैन, घटनास्थलमा यदि उताबाट पोर्टफोलियो मिल्ने गरी उच्च प्रशासनिक नेतृत्व वार्ता वा छलफलका लागि आए यताबाट पनि सीडीओ साहेबको नेतृत्वमा कुरा अगाडी बढ्न सक्छ ।’
भारतीय सुरक्षा अधिकारीले तत्कालका लागि ‘लास’ को राजनीति गरेर सशस्त्र प्रहरीको हतियार खोसेको आरोपमा पक्राउ परेका भारतीय नागरिकलाई छुटाउने र पछि मृत्यु एवं घाईतेहरुको पक्षमा थप दबाब श्रृजना गर्ने मनसाय राखेको जानकारहरु बताउँछन् । ‘दशगजा क्षेत्रमा लास राखेर प्रदर्शन गराउनु भनेको तत्काल पक्राउ परेका आप्mना नागरिक छुटाउने भारतीय पक्षको प्रपंच हो’, एक जानकार भन्छन्, ‘आफ्ना नागरिक छुटाएपछि अनि बल्ल मृतक र घाईतेको क्षतिपूर्ती लगायत अन्य बारेमा भारतीय पक्षले थप दबाब श्रृजना गर्ने पक्का छ ।’ नेपालतर्फका सुरक्षा अधिकारीहरुले पनि पक्राउ परेका भारतीय नागरिकलाई त्यतिकै छाड्ने र भारतीय नागरिकको मृत्यु एवं घाईते भएको घटनाका विषयमा भारतीय पक्षले कुनै कुरा नउठाउने शर्त मान्न तयार हुनेगरी तयारी गरिरहेको स्रोतले जनाएको छ । यद्यपी प्रजिअ जिसीले भने शुक्रबार दिउँसैदेखि सशस्त्र प्रहरीको हतियार खोसेको आरोपमा पक्राउ परेका भारतीय नागरिकलाई कानून बमोजिक कार्बाही गर्न कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाईरहेका छन् ।
शुक्रबार बिहान भारतीय समूहसँग झडपका क्रममा सशस्त्र प्रहरीले गोली प्रहार गर्दा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुईजना घाईते भएका थिए । झडपका क्रममा सशस्त्र प्रहरीका तीन सुरक्षाकर्मी समेत घाईते भएका छन् ।
नेपालतर्फ नारायणपुर नाँका अन्तर्गत भारतीय सितामाढी जिल्ला दरबार लालबन्दी गाउँबाट आएको भारतीय समूहसँगको झडपका क्रममा आत्मरक्षाका लागि सिमामा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले गोली चलाउँदा एक भारतीय नागरिकको मृत्यु भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ । सशस्त्र प्रहरीका सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर भारतीय नागरिक २७ वर्षीय विकेश कुमार रायको मृत्यु भएको हो । छातीमा गोली लागेका रायको भारतीय स्वास्थ्य केन्द्रमा उपचार हुँदाहुँदै मृत्यु भएको बताईएको छ ।
याे पनि पढ्नाेस्
सर्लाहीको नारायणपुर नाकामा शुक्रबार बिहान यसरी भयो भारतीयसँग सशस्त्र प्रहरीको भिडन्त
त्यस्तै गोली लागेर भारतीय नागरिक १९ वर्षीय उमेश राम र ३२ वर्षीय उदय ठाकुर घाईते भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । रामको दाहिने हातमा तथा ठाकुरको खुट्टामा गोली लागेको भारतीय पक्षबाट अनौपचारिक जानकारी आएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । उनीहरुको भारत स्थित स्वास्थ्य केन्द्रमै उपचार भईरहेको छ ।