मलंगवा, ०२ असोज – संविधान दिवसको अवसरमा आज सर्लाही सदरमुकाम मलंगवामा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
मलंगवा नगरपालिकाको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच संयुक्तरुपमा दुई माइल दुरीको खुला दौड प्रतियोगिता सम्पन्न भएको हो ।

दौड प्रतियोगितामा नेपाली सेनातर्फ सिपाही विनोद लोहार पहिलो, सिपाही रिजनबहादुर रावल दोस्रो र सिपाही ललित पुन तेस्रो भएका छन् ।
त्यस्तै नेपाल प्रहरीतर्फ प्रहरी जवान धिरेन्द्र यादव पहिलो, प्रहरी सहायक हवल्दार राजेन्द्र थापा दोस्रो र प्रहरी जवान हरिनारायण पण्डित कुमहार तेस्रो भएका छन् । त्यसैगरी सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी जवान विनोद यादव पहिलो, सशस्त्र प्रहरी जवान विवेक यादव दोस्रो र सशस्त्र प्रहरी जवान पवन कार्की तेस्रो भएका छन् ।
दौडमा पहिलो, दोस्रो र तेस्रो हुने सुरक्षाकर्मीहरुलाई मलङ्गवा नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद यादव, जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्रकुमार महतो, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, सशस्त्र प्रहरी उपरीक्षक अम्मरबहादुर खत्रीलगायत भएर पुरस्कार वितरण गरेका छन् ।

दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश : तीन हजार, दुई हजार र एक हजार नगदसहित पुरस्कृत गरिएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक अम्मरबहादुर खत्रीले जानकारी दिए ।

संविधान दिवसको अवसरमा मलंगवामा बिहान प्रभातफेरि निकालिएको थियो भने अहिले दीप प्रज्वलन गरिएको छ ।