मलंगवा, ०३ असोज – सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशन गन्जगोल बनेको छ ।
पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत आज देशभर वडा अधिवेशनको मिति तोकिएको थियो । सर्लाहीमा भने पार्टीका कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमारले अन्तिम समयमा अर्थात् गएसाँझ साधारण सदस्यसमेत नरहने गरी राजिनामा दिएपछि वडा अधिवेशनमा अन्यौलता सिर्जना भएको हो ।
नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले वडा अधिवेशन भद्रगोल बनेको स्वीकार गरेका छन् । अधिकांश ठाउँमा वडा कार्य समिति तथा वडाबाट छानिने क्षेत्रीय प्रतिनिधिका लागि मोटामोटी सहमति भए पनि औपचारिकता दिन बाँकी रहेको कांग्रेस सर्लाहीका सचिव कार्कीले उज्यालो अभियानसँग बताएका छन् ।
उनले अनौपचारिक रुपमा भएका सहमतिलाई अब सकेसम्म भोली अन्तिम रुप दिएर सहमति भएका ठाउँहरुमा वडा अधिवेशन सम्पन्न गर्ने उद्देश्य रहेको बताए । सर्लाहीमा कांग्रेसका नेताहरुबिच क्रियाशील सदस्यताका विषयमा चर्को विवाद देखिएको छ ।
सोही विवादका कारण पार्टीको कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमार र क्षेत्र नं. २ (ख) का क्षेत्रीय सभापति भिखारी ठाकुरले पदबाट राजिनामा दिएका हुन् । उनीहरु दुवै जनाले केन्द्रीय सभापति गगनकुमार थापालाई सम्वोधन गरी लेखेको राजिनामा पत्रमा क्रियाशील सदस्यता विवादको विषय उल्लेख गरिएको छ ।
क्रियाशील सदस्यता विवाद नभएको ठाउँहरुमा भने आज लगभग वडा तथा क्षेत्रीय प्रतिनिधिको टुङ्गो लागिसकेको कांग्रेस नेताहरुले बताएका छन् ।
लालबन्दी नगरपालिकाका केही वडाहरुसहित उत्तरी भेगका केही ठाउँमा भने आज नै सर्वसम्मत रुपमा वडा कार्य समिति चयन र क्षेत्रीय प्रतिनिधि छनौट भएका छन् ।