लालबन्दी, ०३ असोज – सर्लाहीमा पनि आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
दिवसका अवसरमा दौड, प्रभातफेरि, सरसफाई, अन्तरक्रियालगायतका कार्यक्रम सम्पन्न भएका हुन् । सदरमुकाम मलंगवामा बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीको संयुक्त आयोजनामा दौड प्रतियोगिता गरी पहिलो, दोस्रो र तेस्रो हुने सुरक्षाकर्मीलाई सम्मान गरिएको छ । त्यसपश्चात मलंगवा बजारमा प्रभातफेरि निकालिएको थियो ।
संविधान दिवसकै अवसर पारेर लालबन्दी नगरपालिका ६ मा रहेको कामेश्वर वनवाटिका परिसरमा आज बिहान सरसफाई तथा वृक्षरोपण गरिएको कामेश्वर वनवाटिकाका संरक्षक कपिल देवकोटाले जानकारी दिए । संविधान दिवसका अवसरमा सर्लाहीका अन्य ठाउँहरुमा पनि सरसफाई, अन्तरक्रिया, दीप प्रज्वलनलगायतका कार्यक्रम भएका हाम्रा संवाददाताहरुले जनाएका छन् ।
संविधान दिवसकै अवसरमा यातायात व्यवस्था कार्यालय बर्दिवासले आज चन्द्रनगर गाउँपालिकामा पालिकाबाटै लाइसेन्स वितरण कार्यको शुभारम्भ गरेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । कार्यालयका प्रमुख राजेश यादवले आज गाउँपालिका कार्यालयमै आएर सो सेवाको शुभारम्भ गरेका हुन् ।