सन्जु कर्ण/हरिवन, ०२ असोज – गत भदौ १० गते भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएका सर्लाहीको हरिवनका मनिल कायस्थको शुक्रबार कुसको शव बनाएर अन्त्येष्टि गरिएको छ ।
हरिवन नगरपालिका-११, निवासी बालगोपाल कायस्थका छोरा २८ वर्षीय मनिल रसुवा सनसाइन होटलमा कार्यरत थिए । बाढी गएको तीन सातासम्म कुर्दा पनि मनिलको अवस्था अज्ञात रहेपछि परिवारले शुक्रबार बिहान बागमती नदीमा नेवारी परम्पराअनुसार अन्त्येष्टि गरेका उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए ।
सर्लाहीमा यसअघि भोटेकोशी बाढीमा परेर बेपत्ता भएका लालबन्दी नगरपालिका-५, मेजरगन्जका चिरन्जीवी खतिवडा, द्वारिकाप्रसाद दंगाल र कृष्णप्रसाद धमलाको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो । बाढी गएको यत्तिका दिनसम्म बेपत्ताहरु जीवितै रहेको आस मर्न थालेसँगै परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्न थालेका हुन् ।
भोटेकोशी बाढीमा परेर सर्लाहीका २३ जना सम्पर्कविहीन भएका औपचारिक रुपमा जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।