logo
  • शनिबार, अशोज ३, २०८३ / Saturday, Sep, 19 ,2026

कर्मैया–पिपलमाडी सडक भासियो, गाडी नचल्दा सास्ती


  • उज्यालो अभियान

बागमती, ०२ असोज – महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमतीबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकालाई जोड्ने कर्मैया–पिपलमाडी सडक भासिएर यातायात ठप्प भएपछि स्थानीय समस्यामा परेका छन् ।

मधेश प्रदेशलाई बागमती प्रदेशसँग जोड्ने छोटो दुरीको यो सडकखण्डको हरिहरपुरगढी गाउँपालिका–६, कौवादहमा सडक भासिएर एक सातादेखि यातायात आवागमन ठप्प भएको हो ।

सडक अवरुद्ध भएपछि हरिहरपुरगढी क्षेत्रबाट महेन्द्र राजमार्गस्थित बागमतीसम्म दैनिक उपभोग्य वस्तु किनमेल, औषधि उपचार र अन्य प्रयोजनका लागि आउजाउ गर्ने सर्वसाधारण हेटौंडा वा सिन्धुली हुँदै ओहोरदोहोर गर्न बाध्य भएका बागमती निवासी बस व्यवसायी किस्मतराज मैनालीले जानकारी दिए ।

कर्मैया–पिपलमाडी सडकमा सञ्चालन हुने बोलेरोसहित अन्य साना गाडी थन्किएर बसेका छन् । गाडी बन्द भएपछि कतिपय स्थानीय पैदल हिँडेरै आउजाउ गरिरहेका र चामललगायत अन्य खाद्य वस्तु नाम्लो तथा थाप्लोमा बोक्न बाध्य भएका मैनालीले बताए ।

भारी वर्षापश्चात सडक भासिएर तल बागमती नदीतर्फ बगेको छ । सडकको छेउमा बनाइएको नालाबाट मानिस वारपार गर्ने ठाउँ मात्र बाँकी रहेको र अन्य भाग भासिएर तल बगेको स्थानीयले बताएका छन् ।

अन्तरप्रदेशलाई जोड्ने यो सडक कुनै पनि तहको सरकारको प्राथमिकतामा नपर्दा नागरिकले बर्सेनि सास्ती खेप्नु परेको मैनालीको भनाइ छ । गत वर्ष असोजमा पनि सर्लाहीतर्फको बागमती नगरपालिका–११, परेवा भीरमा पहिरो खस्दा एक साता भन्दा बढी समय यातायात ठप्प भएको थियो ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले आफू मुस्ताङको कार्यक्रम सकेर फर्किरहेको र आज सडकको अवस्था बुझ्न पुग्ने बताए ।

बहुवर्षीय योजना अन्तर्गत कर्मैया–पिपलमाडी सडक कालोपत्रेका लागि ठेक्का लगाए पनि ठेकेदारले बद्मासी गरिदिँदा नागरिकले सास्ती खेप्नु परेको गाउँपालिका अध्यक्ष वाइबाको भनाइ छ । कर्मैया–पिपलमाडी सडक निर्माणमा धेरै राजनीति हुँदा नागरिकले दुःख पाएका गाउँपालिका अध्यक्ष वाइबाको भनाइ छ ।

बागमती प्रदेश सरकारले समेत यो सडकलाई खासै वास्ता नगर्दा समस्या परेको उनको गुनासो छ ।

स्थानीयका अनुसार यही सडक भएर दैनिक २०/२५ वटा मोटरसाइकलमा सर्लाही र रौतहटका माछा व्यापारीले सिन्धुली र मकवानपुरको विभिन्न भेगमा माछा लगेर बिक्री गर्ने गरेका छन् । अहिले सडक नै भासिएर यातायात अवरुद्ध बनेपछि सबै क्षेत्र प्रभावित बनेको छ ।

मधेश र बागमती प्रदेशलाई जोड्ने ‘लिङ्क रोड’ समेत भनिने कर्मैया–पिपलमाडी सडकको १६ किलोमिटरमध्ये सर्लाही खण्डमा डेढ किलोमिटर मात्र पर्छ । सर्लाही खण्डमै अत्यन्त जोखिमपूर्ण चुरे पहाडको डेढ किलोमिटर क्षेत्रमा पनि बारम्बार पहिरो खसेर समस्या आउने गरेको यातायात व्यवसायीले बताएका छन् ।