(तस्बीर : मनिष/उज्यालो अभियान)
मनिषबहादुर बुढाथोकी/लालबन्दी, २९ कात्तिक – चाडपर्वपछि सर्लाहीमा पूर्वपश्चिम राजमार्ग विस्तारको कामले गति लिएको छ ।
जेनजी आन्दोलनले गर्दा उत्पन्न असहज परिस्थित र त्यस लगत्तै प्रमुख चाडपर्व सुरु भएकाले कमला–ढल्केबर–पथलैया सडक विस्तारको काम सुस्त बनेको थियो । अहिले भने फेरि धमाधम सडक विस्तारको काम अघि बढेको हो ।
मुख्यगरी सडकको सीमाभित्र पर्ने क्षेत्रमा स्काभेटर लगाएर सफा गर्ने, सम्याउने र माटो हुर्ने काम भइरहेका छन् । पर्खाल र कच्ची संरचनाबाहेक पक्की घर तथा अन्य संरचना भत्काउने काम भने अझै हुन सकेको छैन् ।
चौतारो, मठमन्दिरलगायतका संरचना पनि त्यसै रहेका छन् । भत्काइएको छैन् । नेपाल विद्युत प्राधिकरणले बिजुलीको पोल र तार हटाउन ठेक्का प्रक्रिया अघि बढाए पनि काम हुन सकेको छैन् ।
त्यसैगरी रुख कटानको अनुमति प्राप्त हुन बाँकी नै रहेको छ । अनेक अल्झनको बाबजुत ‘साइड क्लियर’ रहेको ठाउँमा चाडपर्व लगत्तै फटाफट काम हुन थालेको कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर राजकिशोर सिंहले उज्यालो अभियानसँग बताए ।
सूचना अधिकारी सिंहका अनुसार अहिलेसम्म सर्लाही, महोत्तरी र धनुषा जिल्लामा मात्रै ठेक्का लागेर काम भइरहे पनि रौतहट र बारा खण्डमा ठेक्का लाग्नै बाँकी छ । रौतहट र बारा खण्डको सडक विस्तारको काम गर्न (पश्चिम खण्ड) हेर्ने गरी बेग्लै कार्यालय स्थापना गरी कर्मचारी परिचालन गर्ने सडक विभागको तयारी छ ।
ठेक्का लागेर काम भइरहेको सर्लाही, महोत्तरी र धनुषामा निर्माण व्यवसायीले आ–आफ्नो जिम्मेवारी अन्तर्गतका क्षेत्रमा सडक विस्तार गर्ने र पुल निर्माण गर्ने काम गरिरहेका इन्जिनियर सिंहले सुनाए । विश्व बैङ्कको १८ अर्व ६० करोड रुपियाँ ऋण सहयोगमा एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा ‘मेडियन’ सहित १८ मिटर चौडाइको चार लेनको सडक निर्माण गर्ने लक्ष्य रहेको छ ।
निर्माण कम्पनिले रुख र बिजुलीको पोल छाडेरै सडक विस्तारको काम अघि बढाएका छन् । बाँके जङ्गलस्थित अमुवा पुलदेखि लालबन्दीस्थित जनज्योति क्याम्पसम्मको काम गर्ने जिम्मेवारी पाएका निर्माण व्यवसायी विश्वमित्र रिजालले लालबन्दी बजार र आसपासको क्षेत्रमा काम भइरहँदा साइड क्लियर गर्दा खासै विवाद नभएको उज्यालो अभियानसँग बताएका छन् ।
बिजुलीका पोल, रुख र अन्य संरचना सुरुमै हटाउन नपाउँदा भने काम गर्न झन्झट भइरहेको उहाँको भनाइ छ । राजमार्ग विस्तार अन्तर्गत सर्लाहीमा कलभर्ट र पुल निर्माणको काम भने तिब्र रुपमै भइरहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही खण्डमा पर्ने अधिकांश साना पुल भत्काएर नयाँ बनाइने र केही अहिले भएकै पुललाई मर्मत गरेर सञ्चालन गरिने भएको छ । डुमडुमे, बेतिनी, बस्तीपुर, बासाटोल, सुखेपोखरी र गोडारी खोलामा अहिले रहेका पुल भत्काएर नयाँ पुल बनाइने भएको छ ।
त्यस्तै फूलजोर, कालिन्जोर, लखन्देही, चापिनी र बाँके खोलामा रहेका पुललाई मर्मत गरेर छेउछाउमा मापदण्ड अनुसारको अर्को पुल निर्माण गरी सञ्चालन गरिने कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । बागमती र कमला खोलामा सिग्नेचर पुल निर्माण हुने छ ।
सर्लाहीमा लालबन्दी, नवलपुर, हरिवन, नयाँरोडलगायत मुख्य बजार क्षेत्रमा ललितपुरको ग्वार्कोमा झैँ ‘ओभरपास’ सहितको सडक निर्माण हुने छ ।
पूर्व पश्चिम राजमार्ग विस्तार अन्तर्गत कमला पुलदेखि बडहरीसम्म इकेके इन्फ्रास्ट्रक्चर लिमिटेड इन्डियाले तथा दोस्रो र तेस्रोमा पर्ने बडहरी–फूलजोर र फूलजोर–बागमती खण्ड चाइनिज कम्पनी एसडब्ल्यु इजे र रसुवा कन्स्ट्रक्सन कम्पनी आरसिसी ज्वाइन्ट भेन्चरले ठेक्का सम्झौता गरेका छन् ।
आगामी सन् २०२७ सम्म सडक र पुल निर्माण सम्पन्न भइसक्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ ।