मलंगवा, ०८ साउन – सर्लाही भन्सार कार्यालय मलङ्गवा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ ।
कार्यालयले गएको आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९१.४३ प्रतिसत मात्रै राजस्व उठाउन सफल भएको हो । ५८ करोड ७६ लाख ६३ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ५३ करोड ७३ लाख १७ हजार ९७६ रुपियाँ २ पैसा राजस्व सङ्कलन भएको भन्सार कार्यालय सर्लाहीका प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिए ।
भन्सार कार्यालय सर्लाहीले यसअघि आर्थिक वर्ष २०८०/८१ मा ७२.२५ प्रतिसत र त्यसभन्दा अघि आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ५२.९८ प्रतिसत मात्रै राजस्व सङ्कलन गरेको थियो । अघिल्लो दुई आर्थिक वर्षको तुलनामा यो पटक प्रगति प्रतिसत बढे पनि सतप्रतिसत लक्ष्य भने हाँसिल गर्न नसकिएको प्रमुख भन्सार अधिकृत आचार्यको भनाइ छ ।
बजेट बक्तब्यमा अग्रिम आयकर खारेज भएसँगै मलङ्गवा नाकाबाट अग्रिम आयकर लाग्ने वस्तुको आयात हुन छाडेपछि लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नपाएको कार्यालयले जनाएको छ । भारतसँगको खुला सीमाका कारण विभिन्न सरसामग्रीको तस्करी हुने भएकाले राजस्व सङ्कलनमा समस्या हुँदै आएको भन्सार कार्यालयका कर्मचारीले बताएका छन् ।
सर्लाही भन्सार कार्यालयले मुख्यगरी भारतबाट निकासी हुने धान, आलु र प्याजबाट बढी मात्रामा राजस्व सङ्कलन गर्ने गरेको प्रमुख भन्सार अधिकृत आचार्यले बताए ।
मलङ्गवा नाका भएर भारतबाट खाद्यान्नसहितका सामग्री ठूलो परिमाणमा आयात हुने गरेको भए पनि नेपालबाट प्लाइ र अन्य केही सामग्री थोरै परिमाणमा भारततर्फ निर्यात हुने गरेको छ ।