लालबन्दी, १३ कात्तिक – सर्लाहीमा हिजो बेलुकादेखि नै लगातार वर्षा भइरहेको छ ।
बरु बिहानदेखि त पानी पर्नेक्रम झन बढेको स्थानीयले बताएका छन् । झरीले गर्दा किसानसँगै विद्यालय जाने विद्यार्थी, कर्मचारी र यात्रामा निस्कनुपर्नेहरु प्रभावित बनेका छन् ।
धमाधम धान बाली भित्र्याउने र तोरी छर्र्ने समयमा बेमौसमी वर्षा हुँदा किसान प्रभावित बनेका छन् । पानी पर्ने पूर्वानुमानपछि हिजो दिउँसोसम्ममा सर्लाहीमा धेरैजसो किसानले पाकेको धान भित्याइसकेका छन् ।
अस्ती बुधबार दिउँसोदेखि नै मौसम धामधुम्म हुन थालेपछि केही किसानले मौसम उघ्रिएपछि मात्र काट्ने भन्दै पाकेको धान तत्काल खेतमा नै छाडेका छन् । मौसमको ख्याल नगरी हिजोसमेत काटिएको धान भने बेलुकादेखि परिरहेको पानीले भिजाइदिएको छ ।
सर्लाहीमा हिजो बिहानैदेखि पानी छिट्याउन थालेको थियो । बेमौसमी वर्षाले पाकेको धानसँगै मास, भटमास, बोडीलगायतका पाकेका कोशे बाली भित्र्याउन समस्या परे पनि उखु, हिउँदे मकैलगायतलाई भने फाइदा पुगेको छ ।
झरीका कारण आज बिहानैदेखि सर्लाहीको सडक, बजारमा मानिसको आउजाउ कम भएको छ । रातिदेखि निरन्तर पानी परिरहेकाले स्थानीय वासिन्दाले चिसो महशुस गरिरहेका छन् ।
जिल्लाको चुरेवर्ती क्षेत्रका नारायणखोला, शीर कालिन्जोर, पिपलदमारलगायत क्षेत्रमा खोलाको बाटो मर्मत गरेर बस, जीप, मोटरसाइकलसहितका सवारी साधन सञ्चालनमा आउन थालेकोमा बेमौसमी वर्षा भएर पुनः खोलाको बाटो बिगार्ने चिन्ता थपिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि मौसम उघ्रने सम्भावना रहेको जनाएको छ ।