logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

उखरमाउलो गर्मीले जनजीवन प्रभावित, बिजुली अनियमित हुँदा सास्ती


  • उज्यालो अभियान

गर्मी छल्न छहारीमा बसेका सर्वसाधारण । तस्बिर : उज्यालो अभियान

लालबन्दी, २९ असार – पानी पर्दै नपरेर दिनभर टन्टलापुर घाम लाग्दा सर्लाहीसहित तराई क्षेत्रमा गर्मी असाध्य बढेको छ ।

गर्मीले आम मानिस प्रभावित बन्न थालेका छन् । उज्यालो हुँदादेखि साँझसम्म नै एकटन्कारले चर्को घाम लागेर उखरमाउलो गर्मी हुँदा जनजीवन प्रभावित बनेको हो । यहाँका किसान अहिले दर्के झरीको प्रतिक्षामा छन् । तर दिनभर टन्टलापुर घाम लागेर तापक्रम बढिरहेको छ ।

पानी पर्न रोकिँदा धान रोपाइँ प्रभावित बनेको छ । सिँचाई सुविधा नरहेको क्षेत्रमा धानको ब्याड सुकेर गएको छ भने रोपिएको रोपोमा धाजा फाटेको किसानले गुनासो गरेका छन् । नहरको पानी लाग्ने ठाउँमा भने धमाधमा रोपाइँ जारी छ ।

गर्मी अत्यधिक बढ्दा मानिसलाई अत्यावश्यक काम परेर घरबाहिर निस्कनै मुस्किल छ । गर्मी र चर्को घामका कारण धेरै मानिसमा टाउको दुख्ने, कमजोरी महशुस हुनेजस्ता स्वास्थ्य समस्या बढेको चिकित्सकले बताएका छन् ।

गर्मीकै बेला बिजुली समेत अधाध्य अनियमित हुँदा सर्वसाधारण झनै हैरान छन् ।

जिल्लामा मलंगवा, हरिपूर्वा र गडहीया सवस्टेशनबाट वितरण हुने बिजुली अझ बढी अनियमित रहेको स्थानीयले गुनासो गरेका छन् ।