घारिबथानमा कालोपत्रे भएको सडक (तस्बीर : उज्यालो अभियान)
घारिबथान, २८ असार – सर्लाहीको ईश्वरपुर नगरपालिकाको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने वडा नं. १२ घारिबथानमा यो वर्ष साँढे ३ किलोमिटर बढी सडक कालोपत्रे (पिच) गरिएको छ ।
मधेश प्रदेश सरकार, नगरपालिका र वडा कार्यालयको बजेटबाट पहिलो पटक घारिबथानमा गाउँको मुख्य सडक कालोपत्रे गरिएको हो । ग्राभेल कच्ची सडक रहेको ठाउँमा कालोपत्रे सडक निर्माण भएसँगै स्थानीय खुसी भएका छन् ।
घारिबथानस्थित दोकान टोलका दुर्गाबहादुर भुजेलले गाउँमा कालोपत्रे सडक निर्माण भएसँगै बल्ल नगरपालिकाको वासिन्दा भएको महसुस भएको उज्यालो अभियानसँग बताए । गाउँमा खानेपानी र सिँचाईको दुःख भने हट्न नसकेको भुजेलको गुनासो छ ।
सडक कालोपत्रे भएसँगै आवतजावतमा असाध्य सहजता भएको भुजलको भनाइ छ । “गाउँमा पिच रोड बन्दा असाध्य खुसी छौँ,” भुजेलले भने, “गाउँमा खानेपानी र सिँचाईको समस्या भने कहिल्यै हट्न सकेन ।”
सर्लाहीको उत्तर–पूर्वी भेगस्थित महोत्तरीको बर्दीवास नगरपालिकाको खयरमारासँग सीमा जोडिएको घारिबथानमा चालू आर्थिक वर्षमा वडा, नगर र प्रदेशको समेत ३ करोड रुपियाँ बजेट खर्चिएर सडक कालोपत्रे गरिएको हो । वडा तथा नगरबाट विनियोजित ८१ लाख रुपियाँबाट गोपी चोकदेखि चाकलटोल जाने ओरालोसम्मको १ किलोमिटर ५०० मिटर सडक कालोपत्रे गरिएको ईश्वरपुर १२ घारिबथानका वडाध्यक्ष देविबहादुर खत्री (शिव) ले जानकारी दिए ।
यस्तै मधेश प्रदेश सरकारबाट प्राप्त २ करोड रुपियाँबाट चाकलटोलतर्फ झर्ने ओरालोदेखि हाइ स्कुल, टेम्पु चोक हुँदै साबिक कालिन्जोर गाविस १ मा पर्ने पिपल चौतारासम्म र सोही बजेटले टेप्पु चोकदेखि वडा कार्यालयसम्मको १ किलोमिटर बढी सडक कालोपत्रे गरिएको वडाध्यक्ष खत्रीले बताए । उनले गाउँमा चक्रपथकै आकारमा रहेको सडकमध्ये गोपी चोकदेखि नयाँटोलसम्मको करिव एक किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको र आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर उक्त सडक पनि कालोपत्रे गरिने जानकारी दिए ।
घारिबथानमा यसअघि दोङखोरियादेखि गोपी चोकसम्म करिव १ किलोमिटर र पूर्वपश्चिम राजमार्गस्थित बाँके चोकदेखि अधिकांश जङ्गलको भागसहित नयाँटोलस्थित गाउँसम्म ७ किलोमिटर सडक कालोपत्रे भएको थियो । घारिबथानमा चुरेडाँडाको फेदीसम्मका सडक कालोपत्रे हुन सुरु भए पनि चुरेपाखामा रहेका बस्तीमा भने गोरेटो सडकधरी पुग्न सकेको छैन् ।
घारिबथानको अति दुर्गम भेगमा पर्ने पिपलदमार, गुइडुङ, सिस्नेखर्क, अड्डी, भित्रीखोलालगायत क्षेत्रमा बाँके र कालिन्जोर खोलाको बगर भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । वडाध्यक्ष खत्रीले भने, “समथर रहेको ठाउँमा त सडक निर्माण र अन्य विकास काम गरिरहेका छौँ तर भौगोलिक विकटताले गर्दा डाँडापाखामा काम गर्नै चूनौति छ ।”