logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

फर्सीको मुन्टा टिप्न जाँदा सर्पले डसेर मृत्यु


  • उज्यालो अभियान

बागमती, ०८ असार – सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयामा आइतबार बिहान सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।

करेसा बारीमा फर्सीको मुन्टा टिप्न जाँदा गोमन सर्पले डसेर ३६ वर्षीया मुना राईको मृत्यु भएको हो । राईलाई नवलपुर सर्पदंश उपचार केन्द्रमा १० भाइल एन्टीस्नेक भेनम चलाएर थप उपचारका लागि जनकपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका परिवारले जनाएको छ ।

नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवले महिलालाई चिन्ताजनक अवस्थामा ल्याइएकाले यहाँ उपचार सम्भव नभएपछि जनकपुर रेफर गर्नुपरेको उज्यालो अभियानसँग बताए । आइतबार बिहान ६ बजेतिर सर्पले डसेको महिलालाई ७ बजेतिर मात्रै नवलपुर सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो ।

अटो खोज्दाखोज्दै नपाएपछि अन्तिममा मोटरसाइकलमा हालेर नवलपुरसम्म ल्याइएको थियो । नवलपुर सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीलाई समयमै ल्याउँदा एन्टीस्नेक भेनम चलाएर उपचार गर्ने गरिए पनि गम्भीर अवस्थाका बिरामीलाई जनकपुर, वीरगन्ज वा भारततर्फ रेफर गर्ने गरिएको छ ।

दक्ष चिकित्सकको अभावमा उपचार केन्द्रको आइसियु र भेन्टिलेटर थन्काएर राखिएकाले यहाँ उपचार सम्भव नभएका बिरामीलाई अन्यत्र रेफर गर्नुपर्दा अधिकांशको मृत्यु हुने गरेको छ ।