logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बरहथवामा गोली चल्यो, इन्स्पेक्टरसहित तीन घाइते


  • उज्यालो अभियान

बरहथवा, ०७ असार – सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा बाटो विस्तारक्रममा शनिबार बिहान दुई पक्षबिच झडप हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तीन जना घाइते भएका छन् ।

प्रहरीले झडप नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले दिए । झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका छन् ।

प्रहरी निरीक्षक झडप नियन्त्रणमा लिनेक्रममा र अन्य दुई स्थानीय आपसमा झडप गर्दा घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल लाने काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिंहले बताए ।

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा र सशस्त्र प्रहरीको समेत गरी ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ । झडप नियन्त्रणमा आइसकेकाले अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

खैराटोलमा सडक विस्तार गरेर ढलान गर्नेक्रममा बिहीबार केही महिला र पुरुष मिलेर एक जना महिलालाई लछारपछार पारेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सडक विस्तारकैक्रममा विवाद भएर दुई पक्षबिच झडप भएको बताइएको छ ।

याे पनि पढ्नाेस्

महिलालाई लछारपछार पारेको भिडियो ‘भाइरल’, के हो वास्तविकता ?