logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

प्रदेश स्तरीय परामर्श तथा छलफल कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

चन्द्रनगर, १६ कात्तिक – अस्ट्रेलियन एड (Australian Aid) र वर्ल्ड भिजन इन्टरनेसनल (World Vision International) को आर्थिक सहयोगमा, तथा RRPK र उज्यालो नेपाल, सर्लाहीको संयुक्त आयोजनामा ​​सिकाइ प्लस परियोजना अन्तरगत मधेस प्रदेशको महोत्तरी(बर्दिबास) मा अपाङ्गता भएका व्यक्तिहरूको संस्थाहरू (OPDs) बीच एक दिने प्रादेशिक परामर्श तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल (NFDN), मधेस प्रदेशका अध्यक्ष राजेश साह साथै मधेस प्रदेशका आठवटै जिल्लाबाट अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित तथा नेतृत्व गरिएका संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता थियो।

छलफलमा समावेशी शिक्षाको वर्तमान अवस्था, अपाङ्गतासम्बन्धी नीति, कानुन तथा कानुनी ढाँचाहरूको कार्यान्वयन, र अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना मौलिक अधिकारहरू विशेष गरी शिक्षाको अधिकार प्राप्त गर्ने क्रममा भोग्नुपरेका चुनौतीहरूबारे केन्द्रित रहेर विचार विमर्श गरियो।

यो परामर्श कार्यक्रम ‘अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि’ (UNCRPD)—विशेष गरी समावेशी शिक्षासम्बन्धी धारा २४—का साथै नेपालको संविधान (२०७२), अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ का सिद्धान्तहरूद्वारा निर्देशित थियो।

सहभागीहरूले विद्यमान कानुन तथा नीतिहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्रादेशिक स्तरमा अपाङ्गता भएका व्यक्तिहरूको संस्थाहरू (OPDs) को सामूहिक आवाज, नेतृत्व, पैरवी, समन्वय र जवाफदेहितालाई सुदृढ पार्ने विषयमा विस्तृत छलफल गर्नुका साथै साझा योजनाहरू पनि तयार पारे।

कार्यक्रमले यो कुरामा जोड दियो कि अपाङ्गता भएका व्यक्तिहरूको संस्थाहरू (OPDs) लाई केवल लाभग्राहीका रूपमा मात्र नभई, समावेशी शिक्षा प्रणाली र समतामूलक समाज निर्माणमा मुख्य सरोकारवाला, अधिकार प्राप्त व्यक्ति/समूह, र अर्थपूर्ण परिवर्तनका संवाहकका रूपमा मान्यता दिइनुपर्छ।

आउनुहोस्, सामूहिक नेतृत्व, अर्थपूर्ण सहभागिता, तथा नीति र कानुनहरूको जवाफदेही कार्यान्वयनमार्फत अपाङ्गता भएका व्यक्तिहरूको संस्थाहरू (OPDs) लाई सुदृढ बनाऔं, समावेशी शिक्षालाई प्रवर्द्धन गरौं र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई वास्तविकतामा परिणत गरौं भन्ने संस्थाको अवधारणा छ ।

कार्यक्रम बारे उज्यालो नेपाल,सर्लाही संस्थाको कार्यकारी निर्देशक शिवनाथ राउतले जानकारी गराएका थिए । World Vision बाट जीवन पुडासैनी र RRPK बाट परियोजना व्यवस्थापक आदित्य पटेल र राजेश प्रसाद चौधरी सरको उपस्थिति रहेकोे थियो ।