मलंगवा, १६ कात्तिक – नेपाल-भारत सीमास्थित मलङ्गवा-सोनवर्षा नाका (हनुमान चोक) जलमग्न हुँदा आउजाउमा समस्या परेको छ ।
जिल्लाको मुख्य यो नाकामा अत्यधिक पानी जमेका कारण नेपाल-भारत ओहोरदोहोर गर्नेहरु सास्ती खेप्न बाध्य भएका हुन् । वर्षा भएको दिन नाकामा कम्मरसम्म आउने गरी पानी जम्दा मलङ्गवाबाट सोनवर्षा तथा सोनवर्षाबाट मलङ्गवातर्फ ओहोरदोहार गर्न नसकिने अवस्था हुने नागरिक समाज सर्लाहीका महासचिव एवं मलङ्गवा नगरपालिका-८ स्थानीय वासिन्दा शिवशङ्कर चौधरीले गुनासो गरेका छन् ।
मुख्य नाकाको दुरावस्थाबारे प्रमुख जिल्ला अधिकारी तथा भारततर्फका सुरक्षा अधिकारीहरुको ध्यानाकर्षण गराइएको चौधरीले जानकारी दिए । उनले भने, “कम्तीमा ढलान मात्र गरिदिने हो भने यस्तो बिजोग गरी पानीमा डुब्दै आउजाउ गर्नुपर्दैनथ्यो ।”
खेततर्फबाट पानी बगेर आइरहने र वर्षात्को पानी निरन्तर जमेर गहिरो खाल्टो हुँदै गएकाले समस्या परेको चौधरीले बताए । सीमापारी जाँदा तथा फर्किएर आउँदा जलमग्न भएको ठाउँमा कहाँ खुट्टा पर्ने हो र कतिखेर लड्ने हो भन्ने डर रहेको उनको गुनासो छ ।
मलङ्गवा–सोनवर्षा नाका भएर दैनिक सयौँ मानिस र सवारीसाधन ओहोरदोहोर गर्छन् । नाकामा दुई/तीन फिटसम्म पानी जम्दा यात्रुहरु भिजेर तथा हिलाम्मे भएर दशगजा पार पर्नुपर्ने बाध्यता छ ।
यो ठाउँमा कलभर्ट वा पुल निर्माण भए नेपाल र भारत दुवैतर्फका वासिन्दालाई राहत पुग्ने स्थानीयले बताएका छन् । दशगजामा पोखरी झैँ गहिरो भएर पानी जम्दा साइकल, मोटरसाइकलसहित मालवाहक सवारीसाधन आउजाउमा समेत कठीन भइरहेको छ ।
मलङ्गवा नगरपालिका-८ का वडाध्यक्ष मुकेशकुमार जयसवालका अनुसार दशगजामा यो वर्ष मात्र जलमग्न हुने समस्या उत्पन्न भएको हो । उनले भने, “अघिल्ला वर्षहरुमा पानी परेको दुई/चार घण्टामै पानी बगेर जाने वा सुक्ने हुन्थ्यो तर यो वर्ष खोलाको बाढी पसेर यतैबाट बगिरहेकाले बढी समस्या परेको हो ।”
जलमग्न भएको क्षेत्र दशगजा (नो म्यान्स ल्यान्ड) मै पर्ने भएकाले भारतीय पक्षको सहमति बिना कुनै संरचना बनाउन नसकिने वडाध्यक्ष जयसवालले बताए । यसअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समन्वय गरी पानी जम्न नदिन स्काभेटर लगाउने गरिए पनि यो वर्ष निरन्तर पानी बगेर गहिरो खाल्टो परिसकेकाले पुल बनाउनुको विकल्प नै नरहेको वडाध्यक्ष जयसवालको भनाइ छ ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले दशगजाको यो समस्याबारे एसएसबीसँग सकारात्मक कुरा भए पनि माथिल्लो निकायमै समन्वयको आवश्यक रहेको बताए । उनले भने, “मुख्य नाकामै पानी जमेर आवागमन प्रभावित भएको विषय एसएसबीसँग त भएको हो तर यसबारे अझ माथिल्लो निकायमै सम्वाद गर्नुपर्ने देखिन्छ ।”