बरहथवा, ०६ असार – सर्लाहीको बरहथवा नगरपालिका–४, खैरा टोलमा सडक ढलान भइरहेको ठाउँबाट एक महिलालाई लछारपछार पारेर हटाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
भिडियोमा सडक ढलान भइरहेको ठाउँमा एक महिला आएर लम्पसार परेर सुतेपछि अन्य केही महिला मिलेर लछारपछार गरेर हटाएको देखिन्छ । सो स्थानमा वडा कार्यालयले यो वर्ष १११ मिटर सडक ढलान गर्न सात लाख रुपियाँ बजेट विनियोजन गरेको छ । विवादका कारण लामो समयदेखि त्यहाँ सडक ढलान हुन सकेको थिएन ।
हिजो ढलान भइरहेको ठाउँमा आएर लम्पसार परेर सुत्नुभएकी महिलाले सडक ढलान गर्दा आफ्नो जग्गा मिचिएको भन्दै विरोध जनाउँदै आएकी थिईन् । सडक ढलान गर्दै आफ्नो घर जग्गा अगाडि आएपछि ति महिलाले सडकमै सुतेर काममा अवरोध गर्ने प्रयास गरिन् । ति महिलालाई स्थानीयले लछारपछार गर्दै ‘झ्यानाकुटी’ पारेर सडक ढलान भइरहेको ठाउँबाट हटाएको देखिन्छ ।
एक जना महिलाको विरोधका बिच सडक भने ढलान भइसकेको छ । बरहथवा नगरपालिका–४, का वडाध्यक्ष कृष्णकुमार साहले नगरपालिकाबाट आएका अमिनले नापजाँच गरेपछि दिएको प्रतिवेदनकै आधारमा बाटो ढलान गरिएको दावी गरेका छन् ।
वडाध्यक्ष साहले हजरिया क्षेत्रमा अधिकांश बाटो कालोपत्रे तथा ढलान गर्दा नक्सा भन्दा पनि चलनचल्तीलाई नै आधार मानिएकाले यहाँ पनि चलनचल्तीलाई नै आधार मानेर कसैलाई अन्यास नपर्ने गरी ढलानको काम गरिएको बताएका छन् । “जो महिला सडकमै आएर सुत्नुभयो उहाँको परिवारलाई थोरै जग्गा जाँदा पनि बाटोमा नै त जाने हो भनी धेरै पटक सम्झाउने काम गर्दा पनि मान्नुभएन,” वडाध्यक्ष साहले आज दिउँसो उज्यालो अभियानसँग भने, “एक जनाले गर्दा बाटो नै ढलान नभएपछि गाउँले आएर अवरोध गर्नेलाई हटाएका मात्रै हुन् कुनै प्रकारको दुव्र्यहार भएको छैन् ।”
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीषक (डिएसपी) निरन्जन भट्टराईले खैरा टोलको उक्त बाटोको विषयमा वडा, पालिका र प्रहरी कार्यालयमा समेत पाँच/छ पटक नै छलफल भएको पाइएको बताए । डिएसपी भट्टराईले बाटो ढलान गर्दा दुव्र्यवहार भएको भनी अहिलेसम्म कसैबाट निवेदन नआएको जानकारी दिए ।