लालबन्दी, ०७ असार – सर्लाहीको मौसम आज बिहानैबाट सफा रहेको छ ।
यहाँ चर्को घाम लागेर मौसम उघ्रिएको हो । यसअघि केही दिन दिनदेखि पानी पर्ने र मौसम धाम्मधुम्म हुने हुँदा स्थानीयले गर्मीबाट राहत पाएका थिए ।
तर आजबाट पुनः चर्को घाम लाग्न थालेसँगै गर्मी पुनः बढ्ने आंकलन गरिएको छ । यसैबिच, राति मकवानपुरमा ठूलो पानी परेको थियो ।
अहिले भने ठूलो बाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
लगातार झरी र ठूलो पानी परेका बेला नदी, खोला र तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
गएको जेठ १५ गते राति कोशी प्रदेशमा भित्रिएको मनसुन हिजोदेखि देशभर फैलिएको छ ।