logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

फूलजोर पुल डेढ महिनादेखि बन्द, ठेकेदार बेपत्ता


  • उज्यालो अभियान

जब्दी, ०३ असार – ठेकेदारको बद्मासीका कारण सर्लाहीको फूलजोर खोलाको पुल डेढ महिनादेखि बन्द गरिँदा सर्वसाधारण हैरान भएका छन् ।

लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरको सीमास्थित फूलजोर खोलाको पुलमा दक्षिणतर्फको भाग अर्थात रामपुरपट्टी पुल र सडकको भाग जोड्ने ठाउँमा ठूलो भ्वाङ पर्दा गएको बैशाख २३ गतेदेखि पुलबाट आवतजावत बन्द गरिएको थियो । सडक डिभिजन चन्द्रनिगाहपुरले पुललाई जोड्ने पहुँच सडक (एपरोच रोड) मर्मत गर्न भन्दै पुलमा ढुङ्गा थुपारेर राखेको एक महिना भन्दा बढी भइसक्दा पनि ठेकेदार सम्पर्कमा आएका छैनन् ।

पुलमा थुपारिएको ढुङ्गा माथि र भ्वाङ परेको ठाउँबाट जोखिमपूर्ण ढङ्गले कतिपय मोटरसाइकल चालकले मोटरसाइकल वारपार गराउने गरेका छन् । पैदलयात्री पनि पुलमाथिबाटै हिँडिरहेका छन् ।

चार पाङ्ग्रे सवारी साधन भने खोलाको पानीमा हेलिएर वारपार गरिरहेका छन् । अब वर्षायाममा खोलामा बाढी आइरहने भएकाले आउजाउ नै ठप्प हुने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ ।

लालबन्दी बजारमा जुत्ता, चप्पलको पसल गर्ने ईश्वरपुर नगरपालिका–११, कर्मोहानका राजेश महतोको पुलको अवस्था अत्यन्त धराप हुँदा पनि मर्मतमा बेवास्ता गरिँदा छक्क परेको बताए । उनले ढुङ्गा थुपारिएको र भ्वाङ परेकै ठाउँबाट लोड बोकेका साइकल तथा मोटरसाइकल जवरजस्ती वारपार गराउने काम भइरहेकाले गम्भीर प्रकृतिको दुर्घटनाको जोखिम रहेको जानकारी दिए ।

पप्पु शिवशङ्कर जेभीले तीन वर्षअघि नै निर्माण गरेको फूलजोर खोलाको यो पुल हस्तान्तरण भएको छैन् । पुलमा जब्दी र रामपुर दुवैतर्फबाट पहुँच सडक कालोपत्रे गर्ने जिम्मा गढिमाई रिया निर्माण सेवा रौतहटले पाएको छ ।

ईश्वरपुर नगरपालिका ८ का वडाध्यक्ष श्यामबहादुर थापाले ठेकेदारले आज, भोली भन्दा भन्दै काम गर्न आलटाल गरिरहेको बताए । वडाध्यक्ष थापाले पुलको मर्मत र छेउछाउका सडक कालोपत्रे गर्ने जिम्मेवारी अर्कै निकायको रहेको तर गाली भने जनप्रतिनिधिले खानुपरेको गुनासो पोखे ।

सडक डिभिजन चन्द्रनिगाहपुरले फूलजोर पुलमा पहुँच सडक बनाउन आलटाल गर्ने निर्माण कम्पनि गढिमाई रिया निर्माण सेवा रौतहटलाई कारवाही गर्ने तयारी गरेको छ । कार्यालयका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर अरुणकुमारलाल कर्णले अब एक हप्ताभित्र पुल सूचारु हुने गरी काम नगरे निर्माण व्यवसायीलाई कारवाही प्रक्रिया अघि बढाएर अर्को उपाय खोजिने बताए ।

अब वर्षायाम सुरु भइसकेकाले तत्काल पुलमा पहुँच सडक बन्ने सम्भावना कम रहेको स्थानीयले बताएका छन् ।