logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाही ३ मा सत्ता गठबन्धनबाट नरेन्द्र, विपक्षी गठबन्धनबाट हरि


  • उज्यालो अभियान

सत्ता गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रका प्रत्यासी नरेन्द्र साह (बायाँ) र विपक्षी गठबन्धन अन्तर्गत नेकपा एमालेका प्रत्यासी हरि प्रसाद उप्रेती । (तस्बिर : उज्यालो अभियान)
सर्लाही क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय हरिवनमा आईतबार दिउँसो प्रदेश सभा क मा उम्मेद्वारी दर्ता गराएपछि सत्ता गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीका डिल्ली प्रसाद उप्रेती (माला लगाएर कुर्सीमा बसेका) र विपक्षी गठबन्धन अन्तर्गत नेकपा एमालेका गणेश प्रसाद प्रसाईं (दायाँ माला लगाएर उभिएका) । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको क्षेत्र नं. ३ मा सत्ताधारी गठवन्धन र विपक्षी नेकपा–जसपा गठवन्धन दुवैतर्फका उम्मेदवारले मनोनयन गराएका छन् ।

सत्ताधारी गठवन्धन अन्तर्गत माओवादी केन्द्रबाट संविधान सभा सदस्य नरेन्द्र साहले उम्मेदवारी दिएका छन् । २०७४ मा स्वतन्त्रबाट क्षेत्र नम्बर ३ मै गुलाबको फुल छापमा प्रतिष्पर्धा गरेर १२ हजार ८६ मत प्राप्त गर्दै निकै चर्चा कमाएका साहले यस पटक भने सत्ता गठबन्धन भित्रको माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका हुन् । गत निर्वाचनमा पराजित भएपनि संविधान सभा सदस्य साहले आफ्नो क्षेत्र भित्र शिक्षा, स्वास्थ्य लगायत अन्य विकास निर्माणको क्षेत्रमा तथा गरिब विपन्नलाई सहयोग गर्ने कामलाई निरन्तर जारी राखेका थिए । ०७४ मा निर्वाचित माओवादीका निवर्तमान सांसद रामेश्वर राय यादवले यो पटक साहलाई छाडिदिएका छन् । सत्ता गठबन्धनबाट प्रदेश क मा समाजवादीका डिल्ली प्रसाद उप्रेती तथा ख मा नेपाली कांग्रेसका हरेस महतोले उम्मेद्वारी दिएका छन् ।

यस्तै, ३ नं. क्षेत्रमा विपक्षी एमाले–जसपा गठवन्धनबाट प्रतिनिधि सभामा पहिलो संविधान सभाका सदस्य हरिप्रसाद उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका प्रभावशाली नेता उप्रेतीसँगै विपक्षी गठबन्धनबाट प्रदेश सभा क मा एमालेकै युवा तथा चर्चित नेता गणेश प्रसाद प्रसाईं र ख बाट जसपाका युवा तथा चर्चित नेता संजय यादवले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै प्रतिनिधि सभा सदस्यमा राप्रपाबाट केपी शर्माले समेत उम्मेद्वारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय मलंगवा तथा ईलाका प्रहरी कार्यालय हरिवनमा ईन्स्पेक्टरको रुपमा कार्यरत रहँदा निकै चर्चा कमाएका केपी आफै उम्मेद्वार मनोनयन गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । उनी नेपाल प्रहरीको डीएसपीबाट सेवा निवृत्त भएका हुन् । राप्रपाले प्रदेश क मा श्रीराम महतो र ख बाट मुकेश कुमार साहलाई उम्मेद्वार बनाएको छ ।

राप्रपाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिन आईतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय हरिवन आएका पूर्व प्रहरी अधिकृत केपी शर्मा (हातमा फाईल बोकेका) । (तस्बिर : उज्यालो अभियान)

त्यस्तै जनमत पार्टीबाट त्रिभुवन कुमार सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पञ्च बहादुर सिङ्तान, हाम्रो नेपाली पार्टीबाट भवानी घिमिरे, बहुजन एकता पार्टी नेपालबाट राज कुमार पासवान, मंगोल नेशनल अर्गनाईजेशनबाट ईन्द्र मान वाईबा, नेकपा एकीकृत समाजवादी पार्टीका युवा नेता उत्तर कुमार मैनालीले समेत प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । यस क्षेत्रमा स्वतन्त्र सहित १३ जनाको प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी परेको छ ।