मलंगवा – भारतबाट नेपालतर्फ ल्याउँदै गरेको जिउँदो कुखुरासहित सशस्त्र प्रहरीले सर्लाहीको पर्सा नाकाबाट दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ ।
प्रहरीको आँखा छलेर मोटरसाइकलमा झुण्ड्याएर ल्याउँदै गरेको तयारी अवस्थामा रहेको कुखुरा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको कुखुराहरुको तौल अन्दाजी एक क्वीन्टल रहेको सशस्त्र प्रहरी बल नेपाल नं. १० गणले जनाएको छ । कुखुरा सहित प्रहरीले प्रदेश २ ०२ ००१ प ९५६२ नम्बरको नेपाली मोटरसाइकल र बीआर ३० एस १३६९ नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ ।
चेकजाँचमा रहेका प्रहरीलाई देख्ने बित्तिकै तस्करहरु मोटरसाइकल र कुखुरा छोडी फरार भएका छन् । बरामद गरिएको कुखुरालाई बिओपी मलंगवामा ल्याई खाल्डो खनी नष्ट गरेको सशस्त्र प्रहरी निरीक्षक उमेश कार्कीले जानकारी दिए । बरामद गरिएको मोटरसाइकललाई भने आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय बुझाइएको निरीक्षक कार्कीले बताए ।
एक हप्ता अघिपनि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिब ३ क्वीन्टल कुखुरा र ३ वटा मोटरसाइकललाई सशस्त्र प्रहरीले संग्रामपुर नाकाबाट बरामद गरेको थियो । भारतमा सस्तोमा कुखुरा पाउन थालेपछि व्यापारीहरुले नेपालमा छोडी भारतबाट कुखुरा ल्याउन थालेका छन् ।