logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाहीदेखि मदन भण्डारी राजमार्गसँग जोड्ने गरी सडक निर्माण गर्न छलफल


  • उज्यालो अभियान

हरिवन – तराई, मधेस र पहाडको समृद्धिका लागि भन्दै सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिकादेखि हरिवन नगरपालिकाहुँदै मदन भण्डारी राजमार्ग सिन्धुलीसम्मको सडक निर्माणका लागि आज छलफल गरिएको छ ।

हरिवन नगरपालिकाको आयोजनामा सर्लाही र सिन्धुलीका जनप्रतिनिधिसहित अन्य सरोकारवालाहरुको उपस्थितिमा सीता प्यालेस होटल बागमतीमा सडक निर्माणबारे बृहत छलफल गरिएको हो । हरिवनदेखि क्यानेश्वर हुँदै मदन भण्डारी राजमार्गसम्म पुग्ने सडक अहिले कच्ची छ ।

वर्षायाममा उक्त सडकमा यातायात संचालन हुन सक्दैनन् । यस्तै, हरिवनदेखि दक्षिणी भारतीय सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिकासम्मको सडक कतै कालोपत्रे त कतै कच्ची अवस्थामा नै छ ।


भारतीय सीमादेखि बागमती प्रदेशमा पर्ने सिन्धुलीसम्मको यो सडक निर्माण गर्न सके व्यापार व्यवसायको क्षेत्रले अझ फड्को मार्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने र दुवै जिल्लाका वासिन्दाको जनजीविकामा सहजता आउने भन्दै लामो समयदेखि सडक निर्माणको चर्चा हुँदै आएको छ । हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईको अध्यक्षतामा आयोजित छलफलमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य रेवती पन्त, नेपाली कांग्रेस सर्लाहीका पूर्व पार्टी सभापति लक्ष्मण राय, सिन्धुली कांग्रेसका सभापति उज्वल बराल, बरथवा नगरपालिकाका मेयर देवानन्द महतो, हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद राय यादव, संविधान सभा सदस्य हरि उप्रेती, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठलगायतले मन्तव्य राख्नुभयो ।

यस्तै, छलफलमा नेताहरु विनोद खनाल, दीलिपराज भण्डारी, रामहरि निरौला, बलिराम झा, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका वडाध्यक्ष बालकृष्ण नेपाल लगायतको पनि उपस्थिति रहेको थियो । छलफलका वक्ताहरुले हरेक हिसाबले विभिन्नखाले सम्भावना बोकेको यस सडकको निर्माणका लागि सबै पक्षहरुले निरन्तर पहल कदमी चालीरहनु पर्नेमा जोड दिए ।

हरिवन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सीताराम पोखरेलको स्वागत तथा विद्यार्थी नेता युवराज आचार्यको संचालनमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।