प्रतिकात्मक तस्बीर ।
मलंगवा – सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७, का वडाध्यक्ष श्याम सुन्दर यादवविरुद्ध जवरजस्ती करणी उद्योगमा जाहेरी परेको छ ।
आफूमाथि वडाध्यक्ष यादवले भदौ ५ गते राती बलात्कारको प्रयास गरेको भन्दै छिमेकी एक महिलाले जिल्ला प्रहरी कार्यालय मलंगवामा जाहेरी दिएकी हुन् । महिलाबाट जाहेरी आएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको सर्लाहीका प्रहरी प्रमुख (एसपी) सन्तोष सिंह राठौरले उज्यालो अभियानसँग बताए ।
एसपी राठौरले महिलाको विषय अतिसंवेदनशील हुने भएकाले जाहेरी लिएर कारवाही अघि बढाइएको र गाउँका अगुवाहरुलाई यस घटनालाई राजनीतिक विषय नबनाई प्रहरीलाई अनुसन्धान गर्ने वातावरण बनाईदिन आग्रह गरिएको जनाए ।
विवाहित ती महिलाले आफूमाथि वडाध्यक्ष यादवले घरमै आएर बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख गरेकी छन् । तर आरोपित वडाध्यक्ष यादवले भने मंगलवार दिउँसो उज्यालो अभियानका समाचार प्रमुख जनार्जन खत्रीसँग कुराकानी गर्दै विपक्षीहरुले महिलालाई उचालेर आफूमाथि राजनीतिक प्रतिसोध साध्ने प्रयास भएको बताए ।
आफूले महिलामाथि बलात्कारको प्रयास गरेको भन्ने आरोप झुठो रहेको वडाध्यक्ष यादवको दावी छ । गाउँपालिका अध्यक्ष विनोद कुमार साहको अगुवाईमा आफूलाई फसाउन खोजिएको वडाध्यक्ष यादवको आरोप छ ।
भदौ ५ गते मध्यराती महिलाको घरबाट एक पुरुष बाहिर निस्किएको देखेर स्थानीयले ती पुरुषलाई नियन्त्रणमा लिएपछि आफू पनि त्यहाँ पुगेर महिला र पुरुषलाई सामाजिक मूल्य मान्यता विपरीत गतिविधि नगर्न सम्झाइबुझाई गरेको तर अहिले आएर उल्टै आफूमाथि नै बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएपछि अचम्मित भएको वडाध्यक्ष यादवको भनाई रहेको छ ।
महिलाको श्रीमान अहिले वैदेशिक रोजगारीमा छन् । गाउँपालिकाका अध्यक्ष विनोद कुमार साहले भने आफू दोषीमाथि कारवाही हुनुपर्छ भन्ने पक्षमा लागेको बताएका छन् ।